CLI

बादलले संसदमा बोलेका शब्द संसद्को रेकर्डबाट हटाइयो

काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले बोलेका केही शब्दहरू संसद्को रेकर्डबाट हटाइएको छ ।

नेता थापाले मंगलबारको संसद बैठकमा सम्बोधन गर्ने क्रममा असंसदीय शब्द प्रयोग गरेको भन्दै रेकर्डबाट हटाउन सत्तापक्षका सांसदको माग अनुसार तीनवटा शब्दहरू हटाइएको सभामुख डोलप्रसाद अर्यालले बुधवारको बैठकमा जानकारी गराएका हुन् ।

सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीत थापाले बोलेका केही शब्द संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका थिए ।

तर कुन कुन शब्द हटेको भन्ने जानकारीका लागि एमाले सांसदले माग गरेका थिए । एमाले प्रमुख सचेतक ऐन महरले त्यसबारे जानकारी माग गरेपछि सभामुख अर्यालले त्यसबारे जानकारी दिएका थिए ।

‘सभालाई अराजकहरूको भिड र राष्ट्रिय झन्डा ओढेर देश जलाउनेहरू, नेपाली सेना मूकदर्शक भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गरेको छु,’ सभामुख अर्यालले जानकारी दिए । तर बादलले बोलेका शब्दमात्र हटाएर कुनै एक सांसदको मानमर्दन गरेको भन्दै एमालेका अर्का सांसद गुरु बरालले सभामुखको पुन ध्यानाकर्षण गराएका थिए । उनले अन्य सांसदका अमर्यादित शब्दहरू पनि हटाउनुपर्ने माग गरेका थिए ।

Leave Your Comment

Related News