CLI

सुर्खेत उपत्यका नगर विकास समितिमा झन्डै ३ करोड रुपैयाँ हिनामिना आरोप, ५ जनाविरुद्ध मुद्दा

काठमाडौं । सुर्खेत उपत्यका नगर विकास समितिमा भएको राजस्व हिनामिना प्रकरणमा तत्कालीन सदस्य सचिवहरू टिकाराम ढकाल, नरहरी तिवारी र गेहेन्द्रबहादुर डाँगीसहित ५ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध राजस्व चुहावट तथा भ्रष्टाचारको  मुद्दा दायर गरेको छ ।

अनुसन्धानअनुसार आ.व. २०७६/७७ देखि २०८०/८१ सम्म समितिको सटर, कवल तथा जग्गा भाडाबाट प्राप्त कुल ४ करोड १८ लाख ४ हजार ३०३ रुपैयाँमध्ये जम्मा १ करोड २३ लाख २५ हजार ६२२ रुपैयाँ मात्र बैंक दाखिला गरिएको पाइएको छ । बाँकी २ करोड ९४ लाख ७८ हजार ६८१ रुपैयाँ हिनामिना गरिएको दाबी गरिएको छ ।

आरोपपत्रमा तत्कालीन पदाधिकारी र लेखा तथा प्रशासनमा कार्यरत कर्मचारीहरूको मिलेमतोमा आम्दानी बैंकमा दाखिला नगरी अनियमितता गरिएको उल्लेख छ । साथै, गलत विवरण तयार गरी आय-व्यय विवरण अनुमोदन गराएर वास्तविक रकम लुकाउने प्रयास गरिएको पनि आरोप छ ।

आयोगका अनुसार यो कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गतको कसुर भएकाले उनीहरूलाई कानुनबमोजिम सजायको मागदाबी लिई मुद्दा दायर गरिएको हो । उक्त प्रकरणमा सह–लेखापाल खड्कबहादुर राना र लेखा अधिकृत स्वर्गीय हरिबहादुर क्षेत्रीको संलग्नता पनि अनुसन्धानमा देखिएको आयोगको दाबी छ ।

 

Leave Your Comment

Related News