काठमाडौं । सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । रिपोर्ट अनुसार बीमा कम्पनीहरुले समग्रमा १ अर्ब २७ करोड १९ लाख रुपैयाँ नाफा कमाएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४७ प्रतिशत कम हो। गत वर्षको सोही अवधिमा यी कम्पनीहरुले समग्रमा २ अर्ब ४१ करोड ३४ लाख रुपैयाँ कमाएका थिए।
चैतसम्म आइपुग्दा बीमा कम्पनीको चुक्ता पुँजी २८ अर्ब ३३ करोड ८० लाख रुपैयाँ रहेको छ । यता, रिटेन्ड अर्निङ (सञ्चित नाफा) भने २ अर्ब ८४ करोड लाख रुपैयाँ रहेको छ । ९ महिनामा १४ कम्पनीले ११ अर्ब ८१ करोड रुपैयाँ खुद बीमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १३.४६ प्रतिशत धेरै हो। गत वर्षको चैतसम्म यी कम्पनीहरुले १० अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए।
चुक्ता पुँजी र सञ्चित नाफा
निर्जीवन बीमा कम्पनीहरुको चुक्ता पुँजी २८ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी पुगेको छ। सार्वजनिक गरिएको तथ्याङ्कअनुसार निर्जीवन बीमा कम्पनीहरुको सञ्चित मुनाफा समग्रमा २ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
चुक्ता पुँजीका आधारमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ । यस कम्पनीको चुक्ता पुँजी ३ अर्ब २ करोड रुपैयाँ रहेको छ । त्यसैगरी, दोस्रोमा शिखर इन्स्योरेन्स रहेको छ । यसको चुक्ता पुँजी २ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँभन्दा बढी रहेको छ।
नेको इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी छ। त्यसैगरी एनएलजी इन्स्योरेन्स २ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । यता, राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा बढी सञ्चित मुनाफा कमाएको छ। कम्पनीको सञ्चित मुनाफा २ अर्ब ३० करोड रुपैयाँभन्दा बढी रहेको छ।

बीमा शुल्क संकलन
चालु आवको तेस्रो त्रैमाससम्म १४ वटा निर्जीवन बीमा कम्पनीहरुले समग्रमा ११ अर्ब ८१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४६ प्रतिशतले बढी हो।
सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा हिमालयन एभरेष्ट पहिलो स्थानमा रहेको छ । कम्पनीले चालु आवमा १ अर्ब ४३ करोड बीमा शुल्क संकलन गरेको छ । शिखर इन्स्योरेन्सले १ अर्ब ३० करोड रुपैयाँभन्दा बढी बीमा शुल्क संकलन गरेको छ । गत वर्ष कम्पनीको यस्तो आम्दानी १ अर्ब २० करोड रुपैयाँ रहेको थियो । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, नेको, नेसनल र राष्ट्रिय बीमा कम्पनीको बीमा शुल्क संकलन घटेको छ।

नाफा
निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समग्र निर्जीवन बीमा कम्पनीको कुल नाफा १ अर्ब २७ करोड १९ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष यही अवधिमा यस्तो नाफा २ अर्ब ४१ करोड ३ लाख रुपैयाँ रहेको थियो। यस आधारमा निर्जीवन बीमा क्षेत्रको कुल नाफा ४७.२३ प्रतिशतले घटेको देखिन्छ ।
ओरियन्टल इन्स्योरेन्स सबैभन्दा बढी नाफा कमाउने कम्पनी बनेको छ । कम्पनीले चैत मसान्तसम्म ३० करोड ६६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनी १३ करोड ८३ लाख रुपैयाँ घाटामा रहेको थियो।



