भक्तपुर । विश्वमै दुर्लभ मानिएको नेपालकै पहिलो र ४०० वर्ष पुरानो लिच्छवीकालीन चट्टान अभिलेख यतिखेर संरक्षणको पर्खाइमा छ । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित हललगाउँ र गाउँको भीरपाखा एवं खेतको डिलमा यत्रतत्र रहेको अवस्थामा फरकफरक १५ वटा ऐतिहासिक चट्टान अभिलेख २०६७ पुसमा अन्वेषर्णकर्ता, संस्कृतिविद् एवं इतिहासविद् डा पुरुषोत्तमलोचन श्रेष्ठले पत्ता लगाएका हुन् ।
वर्षौं पहिलेदेखि हलल गाउँमा छरपष्ट रहेका ठुलाठुला ढुङ्गा, देवताका रुपमा पुजिँदै आएको बासुकी ढुङ्गा र छरपष्ट रहेको अन्य चट्टानहरुमा कुँदिएका अभिलेख, अहिलेसम्म प्रचारमा नआएका नवपाषाणकालीन उपकरण, गुफा, ओडार, गढी, प्रकृति उत्पन्न स्वप्नेश्वर महादेवको शिवलिङ्ग, गणेश ढुङ्गा भेटिएको श्रेष्ठले बताए । यिनको उचित संरक्षण अभाव खड्किएको उनको भनाइ छ । यो देशकै सम्पत्ति भएकाले यसको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने उनले प्रस्ट पारे ।’
नेपाल सम्वत् ७४५ देखि ८३५ सम्मका चट्टान अभिलेखको महत्त्व थाहा पाएपछि यसको दिगो संरक्षण गर्न स्थानीयले माग गर्दै आएका छन् । यहाँ नेपाल सम्बत् ७४५ को अभिलेख सूचीको ने।सं ८३५ को भूपतिन्द्र मल्लको १५ वटा चट्टान अभिलेख छन् । यहाँ भेटिएका चट्टानमा भक्तपुरका पूर्वराजा जगज्योति मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ल, कान्तिपुरका राजा कविन्द्र प्रताप मल्लको समेत अभिलेख रहेका इतिहासविद् डा श्रेष्ठले बताए ।
ठुलो ढुङ्गाको शीर्ष भागमा कुँदिएको जितामित्र मल्लको पालामा यज्ञ गर्नका लागि ढुङ्गाको व्यवस्था गरिएको भन्ने पनि अभिलेखमा उल्लेख रहेको उनको भनाइ छ । यहाँको बासुकी ढुङ्गामा रहेको नेपाल सम्बत् ७७८ को अभिलेखमा प्रताप मल्लले चाँगुनारायण मन्दिरका लागि गरुडनारायण, सिंह र हात्तीलगायतका जनावरहरूको प्रतीक बनाउनका लागि ढुङ्गाको व्यवस्था गरिएको र त्यसलाई बिगारेमा पञ्च महापाप लागोस् भन्नेसमेत कुद्न लगाइएको छ ।
चट्टान अभिलेखमा भक्तपुरका तत्कालीन राजा जगज्योति मल्लको नेपाल सम्बत् ७४५ देखि भूपतिन्द्र मल्लको शासनकालसम्मका घटना, चित्र, विभिन्न सङ्केतहरू कुँदिएका छन् । यसअघि नेपालमा शिलालेख, ताडपत्र, भोजपत्र, कनकपत्र र रजतपत्रमा लेखिएका इतिहास छ । ठुलो ढुङ्गामा कुँदिएका अभिलेखमा नेपाल सम्वत् ८३५ मा भूपतिन्द्र मल्लले आफ्ना पिताको सम्झनामा ढुङ्गाको मन्दिर निर्माण गर्न ढुङ्गा लगिएको अभिलेखमा उल्लेख छ । यहाँ प्रथम गणाध्यक्ष पशुपति सदाशिव महादेवको शम्भूलिङ्ग, प्राकृतिक गणेशको ढुङ्गा पहाडको खोचमा छ भने विसं १८५२ को शिलालेख पनि छ ।
यहाँ रहेका चट्टानको ठुलो ढुङ्गामा जगज्योति मल्लको सबैभन्दा पुरानो अभिलेखका साथै अन्य छ वटा अभिलेख र चित्रहरू पाइएका छन् भने बासुकी ढुङ्गामा भक्तपुरका राजा जितामित्र मल्ल र कान्तिपुरका राजा प्रताप मल्लका मल्लकालीन आठ वटा अभिलेख र दुई वटा सङ्केतात्मक चित्रहरू समेत छन् ।
पुरातत्व विभाग स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय भक्तपुरले समेत तत्कालीन समयमै नेपालको इतिहासका पहिलो चट्टान अभिलेख रहेको पुष्टी गरे पनि अझै यसको उचित संरक्षण हुन भने सकेको छैन । चट्टान अभिलेखको संस्कृतिविद् श्रेष्ठले नेपाल उपत्यकाभित्रका कलात्मक ढुङ्गाका मन्दिर, पाटी, ढुङ्गेधारा, ठुलाठुला सिंह, घोडा आदि बनाउन यस क्षेत्रबाट ढुङ्गा लाने गरेको समेत यहाँ रहेका अभिलेखबाट पत्ता लागेको बताए ।
यहाँ रहेका ठुलो ढुङ्गामा कुँदिएका साँढे जुधाइले नेपाल उपत्यकामा मल्लकालीन समयमा साँढे जुधाइ प्रतियोगिताको प्रचलन रहिआएको प्रस्ट हुने उनको दाबी छ । करिब ६ फिट लम्बाइ र दुई फिट चौडाइसम्मका ती अभिलेखमा सिंह, साँढे जुधाई, हात्ती र घोडाको चित्रका साथै नेपाल भाषाका लिपिमा लेखिएका अक्षरसमेत कोरिएका छन् ।
भक्तपुरका मल्ल राजा जितामित्रले पनि नेपाल सम्बत् ८३१ मा केही चट्टानमा अभिलेख कुँद्न लगाएको पाइएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा रहेको बत्सला मन्दिर बनाउन त्यहाँको ढुङ्गा आफूले प्रयोग गर्ने लेखिएको छ । त्यस्तै भूपतिन्द्र मल्लले आफ्ना बुबाको कामलाई निरन्तरता दिन ढुङ्गामा अभिलेख कुँदाएको पाइएको छ । पशुपतिका पुजारी भट्टको समेत यहाँ अभिलेख रहेको श्रेष्ठले जानकारी दिए ।
दुर्लभ चट्टान अभिलेख स्थानीय बासिन्दाले नदेखेको भने होइन तर चट्टानको विषयमा कहिल्यै नसुनेको कारण तत्कालीन समयमा उक्त अभिलेखहरू देउताको अक्षर वाणी भनी धार्मिक आस्थाले पुज्दै आइरहेका र अहिले त्यसको उचित संरक्षण आवश्यक रहेको स्थानीय राजेन्द्र थापा बताउँछन् ।
विश्वमा नै अत्यन्त दुर्लभ मानिने चट्टान अभिलेखबारे सन् १८८० मा भारतका अध्येता भगवान्लाल इन्द्रजीले पहिलोपटक नेपालमा अध्ययन गरेको पाइएको छ । त्यसको १३० वर्षपछि नेपालमा चट्टान अभिलेख भेटिए पनि यसको संरक्षण नुहुनु चिन्ताको विषय बनेको डा श्रेष्ठ बताउँछन् । यो चट्टान अभिलेख ताथलीको, भक्तपुरको मात्र नभई सिंगो नेपालको राष्ट्रिय सम्पत्ति रहेको उनले बताए । ुयो विश्वको सारा मानव जातिको साझा सम्पदा हो, अपशोच हामीले पत्ता लगाएको १६ वर्ष बितिसक्दा पनि पुरातत्व विभागले तार–बार लाउने बाहेक संरक्षणको कुनै पहल गरेको छैन । यसको संरक्षणको दायित्व पुरातत्व विभागको हो,ु उनले भने ।’
ती चट्टानमा काठमाडौंका राजा प्रताप मल्ल, भक्तपुरका जगतज्योति मल्ल, जितामित्र मल्ल, भूपतिन्द्र मल्ललगायत पशुपतिका भट्टको समेत अभिलेख कुँदिएको आफूले पाएको उनको भनाइ छ ।
उनले स्थानीय जनता यसको पहरेदारको रुपमा रहेको भन्दै चट्टान अभिलेखदेखि ताथली गढीसम्मलाई संरक्षण गर्दै विश्वका अनुसन्धान र अध्ययनका लागि आउने केन्द्रको रुपमा विकास गर्न सकिने बताए । यसलाई धार्मिक, शैक्षिक र ऐतिहासिक पयटकीय क्षेत्रको रुपमा विकास गर्न आवश्यक रहेको चर्चा गर्दै उनले यो तत्कालीन समयमा उपत्यकाका महत्त्वपूर्ण प्रस्तर मूर्तिहरु निर्माणका लागि ढुङ्गा लैजाने यही ठाउँ रहेको र यसका लागि भक्तपुर र काठमाडौँका राजाहरुबीच तँछाडमछाड हुने गरेको तथ्य पाइएको बताए ।
नेपाल मण्डलका प्रस्तर मूर्ति निर्माणका लागि चाँगुनारायणको डाँडादेखि ताथलीको चट्टान अभिलेख रहेको क्षेत्रसम्मका ढुङ्गाहरु लैजाने इतिहास पाइएको भन्दै उनले यहाँका ढुङ्गा आफैँमा महत्त्वपूर्ण रहेको प्रस्ट पारे । यहाँका अभिलेखमा मल्लकालीन राजा र पुजारीहरूले मन्दिर, धारा र कलात्मक वस्तुको निर्माणका लागि ढुङ्गा लिन गएको विवरण उल्लेख गरेको छ । ती क्षेत्रमा उत्खनन् गर्नसके अन्य विविध जानकारीयुक्त अभिलेख समेत फेला पर्न सक्ने इतिहासविद् डा। श्रेष्ठको भनाइ छ । ताथलीमा ढुङ्गाको नवपाषाण युगको अभिलेखले इसापूर्व आठ हजार वर्षअगाडि नै काठमाडौंँ उपत्यकामा मानव बस्ती भएको सङ्केत गरेको छ ।
बागमती प्रदेशका पर्यटन तथा संस्कृतिमन्त्री सुरेश श्रेष्ठले केही दिनअघिमात्रै चट्टान अभिलेख रहेको क्षेत्रको अनुगमन, निरीक्षण गरेको बताउँदै यसको संरक्षणका लागि मन्त्रालयले आउँदो वर्षको बजेटमा बजेटको व्यवस्थापन गर्ने बताए ।
खुला आकासमुनि खुला सङ्ग्रहालयको रुपमा रहेको यस अभिलेखलाई संरक्षण र सम्वर्द्धन गर्नु तथा चट्टानमा कुँदिएका अक्षर र चित्रको थप अनुसन्धान र संरक्षणको आवश्यक रहेको बताउँदै बजेट अभावमा आफ्नो पालामा तार–बार लगाएर घेर्ने कामसम्म गरेको पुरातत्व विभाग दरबार हेरचाह कार्यालयकी तत्कालीन प्रमुख अरुणा नकर्मीले जनाइन् ।
चट्टान अभिलेख विश्वमै दुर्लभ मानिन्छ । भारतमा ईसापूर्व तेस्रो शताब्दीका सम्राट अंशुवर्माकालीन थोरै अभिलेख मात्रै पाइएका छन् । चट्टान अभिलेख भेट्टाउनु नै ठुलो उपलब्धि भएको बताउँदै उनले यसले इतिहास लेखनमा एउटा नयाँ आयाम थपेको र अन्यत्र पनि यस्ता अभिलेख हुनसक्ने भएकाले थप अनुसन्धान आवश्यक रहेको प्रस्ट पारिन् ।
चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातले आफ्नै वडामा रहेको ऐतिहासिक धरोहरको संरक्षणमा वडा र पालिकाले केही गर्न नसकेको बताए । उनले यसका लागि पालिकासँग बजेट नभएको बताउँदै प्रदेश र सङ्घीय सरकार एवं पुरातत्व विभागले यसको संरक्षणमा चासो दिन आवाज उठाइरहेको जनाए ।
यस क्षेत्रमा विभिन्न विद्यालय तथा कलेजका विद्यार्थीहरु अध्ययनको सिलसिलामा पुग्ने गरेका छन् भने आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुन थालेको छ । विदेशी अध्ययन र अनुसन्धानकर्ताहरुको पनि यहाँको अध्ययन लागि आउने गरेका छन् । जङ्गल, पहाडी क्षेत्र, फराकिलो सडकको पहुँचभन्दा बाहिर भएकाले वर्षा लागेपछि यस क्षेत्रमा आउने अध्ययन अनुसन्धानकर्ता एवं पर्यटक भने जान समस्या हुने गरेको छ ।
यसको आसपासका फाँट क्षेत्रमा स्थानीयले धान र गहुँ उत्पादन गर्दै आएका छन् । कतिपय ढुङ्गामा कुदिएका अभिलेखहरु स्थानीयको निजी जग्गामा परे पनि यसको संरक्षण गर्न र बिग्रन नदिन स्थानीय वासिन्दा सक्रिय देखिन्छन् ।


