काठमाडौं । उच्च शिक्षाका लागि विदेश पठाउने बहानामा ठगी बढेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ कन्सल्टेन्सीमा छापा मारेको छ । ९५ कन्सल्टेन्सीमा छापा मार्दा ठगिमा संलग्न प्रक्रिया नपुर्याई, दर्ता विना चलाईरहेका ६९ कन्सलटेन्सीका सञ्चालकलाई पक्राउ गरेको छ।
उच्च शिक्षाको लागि विदेश पठादिन्छु भनी ठगी गरेको उजुरीका आधारमा खटिएको प्रहरीले शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो। नियन्त्रणमा लिइएका ६९ वटा कन्सलटेन्सीका सञ्चालकलाई थप अनुसन्धान अघि बढाएको कार्यालयले जनाएको छ।
यी कन्सल्टेन्सीले प्रकृया पूरा नगरी, दर्ता नवीकरण नगरी तथा इजाजत नलिई शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा, भाषा शिक्षणलगायतका सेवा प्रदान गर्दै आएको पाइएको प्रहरीले जनाएको छ।
साथै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कन्सल्टेन्सीबाट यदि कोही ठगिएको भए अनुसन्धान कार्यालयमा सम्पर्क गर्न समेत सूचित गरेको छ ।


