CLI

आईपीओ अनुमति पर्खिरहेको बिजनेस इन्ट्रेस्ट ग्रुपको आम्दानी साढे २३ सय प्रतिशत बढ्यो, ऋणको भार निकै कम

काठमाडौं । सर्वसाधारणका लागि आईपीओ निष्कासनको अनुमति पर्खिरहेको बिजनेस इन्ट्रेस्ट ग्रुप (बि.आई.जी.) अफ इन्डस्ट्रिज लिमिटेडले गत आर्थिक वर्षमा वित्तीय प्रगति गरेको छ । केयर रेटिङ्स नेपाल लिमिटेडका अनुसार कम्पनीले गत वर्ष (सन् २०२५) १२ करोड ३० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । जुन अघिल्लो वर्ष (सन् २०२४) को ५० लाख रुपैयाँको तुलनामा २३६० प्रतिशतको धैरे हो ।

यसैबीच केयर रेटिङ नेपालले बिजनेस इन्ट्रेस्ट ग्रुप अफ इन्डस्ट्रिजलाई प्रदान गरेको ‘केयर-एनपी बीबी इस्युअर’ रेटिङलाई यथावत् राखेको छ । यो रेटिङले संस्थाले वित्तीय दायित्व र ऋणको साँवा-ब्याज समयमै भुक्तानी गर्ने मामिलामा “मध्यम जोखिम” भएको बताउँछ ।

कम्पनीको रेटिङलाई निरन्तरता दिनुमा यसले गरेका लगानीहरुको प्रतिफल आउन लाग्ने लामो समयलाई मुख्य कारण मानिएको छ। बिजनेस इन्ट्रेस्टका अधिकांश लगानीहरु या त निर्माणाधीन चरणमा छन् वा सञ्चालनको प्रारम्भिक अवस्थामा रहेका कम्पनीहरुमा केन्द्रित छन्।

नेप्सेमा सूचीकृत नभएका कम्पनीहरुमा ठूलो लगानी रहेका कारण यसको भविष्यको वित्तीय कार्यसम्पादन सहायक र लगानी गरिएका कम्पनीहरुको व्यावसायिक विस्तार र नगद प्रवाह सिर्जना गर्ने क्षमतामा निर्भर रहनेछ ।

सूचीकृत नभएका सेयरहरुमा हुने तरलताको जोखिमलाई ओभर द काउन्टर (ओटीसी) बजारमा भएको कारोबारको विगतको रेकर्डले केही हदसम्म कम गरेको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीको कुल सञ्चालन आम्दानी आर्थिक वर्ष २०८०/८१ को ५० लाख रुपैयाँबाट बढेर आर्थिक वर्ष २०८१/८२ मा १२ करोड ३० लाख रुपैयाँ पुगेको हो। यस आम्दानीमध्ये ४८ लाख रुपैयाँ सूचीकृत सेयर बिक्रीबाट, ३९ लाख रुपैयाँ ओटीसी बजारमा सेयर बिक्रीबाट र ७५ लाख रुपैयाँ जग्गा बिक्रीबाट प्राप्त भएको हो।

कम्पनीको कुल नगद आम्दानी पनि अघिल्लो वर्षको १० लाखबाट बढेर ८१ लाख रुपैयाँ पुगेको छ । २०८२ असार मसान्तसम्ममा कम्पनीको कुल लगानी (अग्रिम भुक्तानी सहित) १ अर्ब १३ करोड २० लाख रुपैयाँ रहेको छ भने खुद सम्पत्ति १ अर्ब ११ करोड ३० लाख रुपैयाँको उच्च स्तरमा  छ । कम्पनीको समग्र गियरिङ रेसियो ०.०२ गुणा र ब्याज भुक्तानी क्षमता १३.७२ गुणा रहेकाले ऋणको भार निकै कम र सुरक्षित देखिएको छ ।

कम्पनीले मुख्य रुपमा लगानी गरेका क्षेत्रहरु—कृषि, कृषि-प्रशोधन, हस्पिटालिटी (पर्यटन) र ऊर्जाको मध्यम तथा दीर्घकालीन भविष्य सकारात्मक देखिएको एजेन्सीले जनाएको छ । सरकारले बजेटमार्फत यी क्षेत्रलाई प्राथमिकतामा राखेको छ। कुल गार्हस्थ्य उत्पादनमा २४ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा अनुदान र न्यूनतम समर्थन मूल्यको व्यवस्था छ।

आगामी दिनमा ग्रुपले लगानी गरेका सहायक कम्पनीहरुले दिने प्रतिफल नै यसको रेटिङको मुख्य संवेदनशील पक्ष बन्नेछ। लगानी गरिएका कम्पनीहरुमा थप ठूलो पुँजी प्रतिबद्धता गरिएमा वा अत्यधिक ऋण थपिएमा कम्पनीको पुँजीगत संरचना कमजोर हुन सक्ने र त्यसले रेटिङलाई समेत प्रभाव पार्न सक्ने केयर रेटिङले जनाएको छ।

बिजनेस इन्ट्रेस्ट ग्रुप (बी.आई.जी.) अफ इन्डस्ट्रिज लिमिटेड २६ फेब्रुअरी २०२१ (१४ फागुन २०७७) मा स्थापना भएको एक पब्लिक लिमिटेड कम्पनी हो।

यस कम्पनीको उद्देश्य कृषि उत्पादन, व्यापार तथा वितरण, हस्पिटालिटी (पर्यटन/होटल), स्वास्थ्य र स्वच्छ ऊर्जा लगायतका विविध क्षेत्रका व्यावसायिक गतिविधिहरुमा लगानी गर्नुका साथै दोस्रो बजारको सेयर, डिबेन्चर र बन्डहरुमा लगानी गर्नु हो। यस ग्रुपले हाल कृषि, हस्पिटालिटी, कृषि-व्यापार र ऊर्जा क्षेत्रमा संलग्न १५ वटा कम्पनीहरुको सेयर पुँजीमा लगानी विस्तार गरिसकेको छ।

कम्पनीको बलियो पक्ष यसको अनुभवी प्रवर्द्धक र व्यवस्थापन टोली हो। चार्टर्ड एकाउन्टेन्ट नवराज बुर्लाकोटीको अध्यक्षतामा रहेको ५ सदस्यीय सञ्चालक समितिसँग व्यवस्थापन, व्यवसाय विकास र पुँजी बजारमा दोस्रो दशकभन्दा बढीको अनुभव छ।

यस कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरको ७४ लाख २० हजार कित्ता साधारण सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) मा अनुमतिका लागि आवेदन दिएको छ ।

Leave Your Comment

Related News