CLI

हिमालयन बैंकको कर्जा व्यवस्थापनमा कमजोरी, राष्ट्र बैंकको कारवाही

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा विभिन्न नियामकीय कमजोरी फेला परेपछि हिमालयन बैंक लिमिटेडका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ।

राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले सार्वजनिक गरेको विवरणअनुसार बैंकले केही सीमित ऋणीलाई निर्धारित प्रिमियमदरमा लागू हुने गरी छुट प्रदान गरेको तथा उक्त छुट रकम बक्यौता ब्याज र साँवा भुक्तानीमा प्रयोग गरेको पाइएको छ।

त्यसैगरी, बैंकले तोकिएको समयसीमा नाघिसकेपछि बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम मात्र प्राप्त गरी कर्जा पुनर्तालिकीकरण तथा पुनर्संरचना गरेको उल्लेख गरिएको छ। पुनर्संरचित कर्जामध्ये भाखा नाघेको किस्ताको साँवा रकमलाई मात्र पुनर्संरचित कर्जामा वर्गीकरण गरी अन्य रकमलाई असल कर्जामै राखिएको तथा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको राष्ट्र बैंकको निष्कर्ष छ।

निरीक्षणका क्रममा केही कर्जाहरूलाई भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरिएको, ऋणीहरूको भुक्तानी अवधि लामो समयसम्म अस्थायी रूपमा थपिएको तथा ९० दिनभन्दा बढी बक्यौता रहेका कर्जालाई खराब कर्जाअन्तर्गत वर्गीकरण नगरी पर्याप्त provisioning नगरिएको समेत पाइएको जनाइएको छ।

उक्त कार्यहरूबाट इजाजतपत्रप्राप्त संस्थाहरूलाई जारी एकीकृत निर्देशन २०८१ उल्लंघन भएको देखिएको भन्दै राष्ट्र बैंक ऐन, २०५८ को दफा १००(२)(क) बमोजिम बैंकका सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको हो।

यसैगरी, दफा १००(१)(ख) बमोजिम निर्देशन उल्लंघन गरेबापत बैंकको सञ्चालक समितिबाट सुधारात्मक कदम चाल्ने कबुलियतनामा समेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

Leave Your Comment

Related News