CLI

कृषि विकास बैंक र साना किसान लघुवित्तले गैरकानुनी रुपमा सञ्चालन गरे बीमा व्यवसाय

काठमाडौं । कृषि विकास बैंक र साना किसान लघुवित्त वित्तीय संस्थाले कानुन विपरित बीमा व्यवसाय सञ्चालन गरेको पाइएको छ । कृषि विकास बैंक र साना किसानले गैरकानुनी रुपमा बीमा व्यवसाय सञ्चालन गरी करोडौं भुक्तानी गरेको पाइएको हो ।

कृषि विकास बैङ्कलले ४ करोड १६ लाख ६६ हजार र साना किसान लघुवित्त वित्तीय संस्थालाई ८ करोड ७५ लाख ६० हजार गरी कुल १२ करोड ९२ लाख २६ हजार बीमा वापत्को रकम भुक्तानी दिएका छन् । सो विषयमा अर्थ मन्त्रालयले खोजी नगरेको महालेखा नियन्त्रक कार्यालयको ६३ औं प्रतिवेदनले जनाएको छ । प्रतिवेदन अनुरुप मन्त्रालयले बिमा व्यवसाय गर्ने इजाजत नभएका कृषि विकास बैङ्कलाई ४ करोड १६ लाख ६६ हजार र साना किसान लघुवित्त वित्तीय संस्थालाई ८ करोड ७५ लाख ६० हजारसमते गरी कुल १२ करोड ९२ लाख २६ हजार निकासा दिएको छ । यी संस्थाहरू बिमा व्यवसाय गर्ने आधिकारिक निकाय नभएको र निर्देशिकाले तोकेको अभिकर्ताको रूपमा समेत दर्ता नभएकाले ती संस्थामार्फत कार्यक्रम सञ्चालन गर्नु कानुनसम्मत नरहेको बताइएको छ ।

त्यसै गरी, निकासा दिइएको रकमबाट लाभान्वित किसान र पशु वा बालीको बिमा सङ्ख्याको खण्डीकृत विवरण एवं पुष्ट्याइँ मन्त्रालयले माग गरेको र अनुगमन गरेको समेत छैन । सरकारले यस्तो कार्यक्रमका लागि कुनै निश्चित कार्यविधि समेत तर्जुमा नगरी र प्रचलित सार्वजनिक खरिद एवं आर्थिक कार्यविधि कानुनको प्रक्रिया पुरा नगरी भुक्तानी दिएको देखिँदा बिमा ऐन र निर्देशिकाले तोकेका आधिकारिक बिमा प्रदायकहरूबाट मात्र कार्यक्रम सञ्चालन गर्ने गरी यसको पुनर्संरचना गर्नुपर्दछ । साथै हालसम्म भएको खर्च प्रिमियममा मात्र प्रयोग भएको सुनिश्चित हुने गरी कार्यक्रमलाई व्यवस्थित गर्नुपर्दछ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ४० ( ५ ) मा सङ्गठित संस्थालाई अनुदान दिँदा सोको प्रगति विवरण लिने, लेखापरीक्षण गराउने र अनुगमन गर्नुपर्ने व्यवस्था छ । साथै, बिमा ऐन, २०७९ को दफा २४ र २८ ले दर्ता नभएका संस्थासँग बिमा कारोबार गर्न नहुने र अनिवार्य रूपमा पुनर्बिमा गर्नुपर्ने व्यवस्था छ । बिमा ऐन र लघुबिमा निर्देशिका, २०७६ को दफा ३ (२) मा निर्जीवन बिमा गर्ने कम्पनीले मात्र यस्तो व्यवसाय गर्न पाउने र सोही निर्देशिकाको दफा ५ मा तोकिएका निकायबाट मात्र कार्यक्रम सञ्चालन हुनुपर्ने व्यवस्था रहेको छ ।

Leave Your Comment

Related News