CLI

चीन–रूस सम्बन्ध झन् नजिकिँदै : पुटिनको बेइजिङ भ्रमणमा ऊर्जा, युद्ध र विश्व राजनीति केन्द्रमा

काठमाडौं । रुसी राष्ट्रपति भ्यादिमर पुटिन मंगलबार साँझ दुई दिने भ्रमणका लागि चीन पुगेका छन्। यो भ्रमण मुख्यतः चिनियाँ राष्ट्रपति सी जिङपिङसँगको वार्तामा केन्द्रित छ । युद्ध, प्रतिबन्ध र विश्वव्यापी राजनीतिक विभाजन गहिरिँदै जाँदा मस्को र बेइजिङबीचको सम्बन्ध अझ नजिकिएको सन्दर्भमा यो भेट भएको अन्तर्राष्ट्रिय सञ्चार मध्येहरुले जनाएका छन् ।

पछिल्लो एक वर्षभित्र पुटिन र सीबीच भएको यो दोस्रो प्रत्यक्ष भेट हो। साथै, सन् २००१ मा भएको “सद्भावना तथा मैत्रीपूर्ण सहकार्य सन्धि” को २५औँ वार्षिकोत्सवसँग पनि यो भ्रमण जोडिएको छ। उक्त सन्धिले दशकौँसम्म वैचारिक प्रतिस्पर्धा र अविश्वासमा रहेका रुस र चीनबीचको सम्बन्धलाई औपचारिक रुप दिएको थियो।

यो भ्रमण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङ भ्रमण सकेको केही दिनपछि भएको हो। विश्लेषकहरुका अनुसार ट्रम्पको अनिश्चित विदेश नीतिले रुस र चीनलाई अझ नजिक ल्याउने काम गरेको छ।

रुस–चीन साझेदारी युक्रेन युद्ध, इरानमाथिको तनाव र होर्मुज जलसन्धिमा उत्पन्न अवरोधको पृष्ठभूमिमा अझ बलियो बन्दै गएको छ। यी घटनाले विश्व ऊर्जा बजारलाई प्रभावित बनाएको छ र चीनलाई तेल तथा ग्यास आपूर्तिको सुरक्षाबारे थप चिन्तित बनाएको छ।

विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलसन्धिमा जोखिम बढेपछि चीनले स्थिर स्थलमार्गीय ऊर्जा आपूर्तिकर्ताका रुपमा रुसमाथि निर्भरता बढाएको छ।

विश्लेषकहरुका अनुसार एक साताभित्र ट्रम्प र पुटिन दुवैलाई आतिथ्यता दिनु संयोग मात्र होइन। यसले विश्वव्यापी अस्थिरता र विभाजनबीच चीनले आफूलाई विश्वसनीय शक्ति केन्द्रका रुपमा प्रस्तुत गर्न खोजेको संकेत दिन्छ।

दशकौँमा कसरी बदलियो चीन–रुस सम्बन्ध ?

चीन र रुसबीचको सम्बन्ध लामो समयदेखि जटिल रहँदै आएको छ। एक समय कम्युनिस्ट विचारधारा र पश्चिमी पूँजीवादविरुद्धको साझा धारले दुवै देशलाई नजिक ल्याएको थियो। तर पछि सोभियत संघ र माओवादी चीनबीच गम्भीर प्रतिस्पर्धा भयो। शीतयुद्धका बेला ४,३०० किलोमिटर लामो सीमामा तनाव चुलिँदा दुई देश युद्धको नजिकसम्म पुगेका थिए।

तर अहिले त्यही सीमा रणनीतिक सहकार्य र व्यापारको केन्द्र बनेको छ।

सी र पुटिन दुवै धेरै अन्तर्राष्ट्रिय भ्रमण गर्ने नेतामा पर्दैनन्। पुटिनमाथि युक्रेन युद्धसँग सम्बन्धित मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी अदालत (ICC) ले गिरफ्तारी वारन्ट जारी गरेको छ भने सी प्रायः चीनबाहिर औपचारिक राजकीय भ्रमणबाहेक जाँदैनन्। तर दुवै नेताले व्यक्तिगत सम्बन्ध मजबुत बनाउन विशेष ध्यान दिएका छन्।

दुवैले पटक–पटक एकअर्कालाई “मित्र” भनेर सम्बोधन गरेका छन् । विशेषगरी सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि मस्को अन्तर्राष्ट्रिय रुपमा अलगिँदै गयो र व्यापारका लागि चीनतर्फ झन् बढी निर्भर बन्न पुग्यो।

रुसी सरकारी सञ्चारमाध्यमका अनुसार भ्रमणअघि पुटिनले “रुस र चीन आत्मविश्वासका साथ भविष्यतर्फ अघि बढिरहेका छन्” भनेका थिए।

उनले दुई देशबीच राजनीति, अर्थतन्त्र, रक्षा, सांस्कृतिक आदानप्रदान तथा जनस्तरको सम्बन्धमा सहकार्य तीव्र रुपमा विस्तार भइरहेको बताए।

किन चीन रुसका लागि आवश्यक छ?

युक्रेन युद्धपछि रुसमाथि पश्चिमी प्रतिबन्ध बढ्दै गएपछि चीन रुसको आर्थिक सहाराजस्तै बनेको छ। सन् २०२० देखि २०२४ सम्म दुई देशबीचको व्यापार दोब्बरभन्दा बढी बढेर २३७ अर्ब डलर पुगेको थियो।

तर सम्बन्ध पूर्ण रुपमा बराबरीमा छैन। चीन रुसको सबैभन्दा ठूलो व्यापार साझेदार भए पनि रुसले चीनको कुल अन्तर्राष्ट्रिय व्यापारको करिब ४ प्रतिशत मात्र हिस्सा ओगट्छ। चीनको अर्थतन्त्र रुसको भन्दा निकै ठूलो भएकाले वार्तामा बेइजिङको प्रभाव बढी देखिन्छ।

युक्रेन आक्रमणपछि रुस चिनियाँ प्रविधि र उत्पादनमा झन् निर्भर बनेको छ। ब्लूमबर्गको एक रिपोर्टअनुसार रुसले प्रतिबन्धित प्रविधिको ९० प्रतिशतभन्दा बढी चीनबाट प्राप्त गरिरहेको छ। तीमध्ये ड्रोन उत्पादन र रक्षा उद्योगमा प्रयोग हुने सामग्री पनि समावेश छन्।

युरोपेली बजार बन्दजस्तै भएपछि चीन रुसी तेल र ऊर्जा उत्पादनको मुख्य खरिदकर्ता बनेको छ। पश्चिमी प्रतिबन्धका कारण रुससँग चीनको माग बराबरको अर्को विकल्प कम छ। विश्लेषकहरुका अनुसार यही असन्तुलनका कारण चीनले रुसबाट सस्तो दरमा तेल–ग्यास प्राप्त गर्दै मस्कोमाथि आर्थिक प्रभाव विस्तार गरिरहेको छ।

किन चीनलाई अझै रुस आवश्यक छ?

सम्बन्ध असन्तुलित भए पनि एकतर्फी भने छैन। रुसले चीनलाई विशाल ऊर्जा स्रोतमा सुरक्षित पहुँच दिन्छ, विशेषगरी समुद्री मार्ग असुरक्षित बन्दै गएको समयमा । इरान युद्ध र होर्मुज जलसन्धिमा आएको अवरोधले चीनलाई ऊर्जा सुरक्षाबारे थप चिन्तित बनाएको छ। चीनको धेरै तेल तथा ग्यास विवादित समुद्री मार्ग हुँदै आउँछ।

यसै कारण लामो समयदेखि रोकिएको “पावर अफ साइबेरिया–२” ग्यास पाइपलाइन परियोजनाले फेरि महत्व पाएको छ। यो परियोजना सम्पन्न भएमा मंगोलिया हुँदै वार्षिक ५० अर्ब घनमिटर रुसी ग्यास चीन पठाइनेछ। रुस चीनका लागि केवल आर्थिक साझेदार मात्र होइन, भूराजनीतिक साझेदार पनि हो। दुवै देश संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य हुन् र अमेरिकाकेन्द्रित नीतिको विरोधमा प्रायः एउटै धारमा उभिन्छन्।

यद्यपि चीनले रुससँग औपचारिक सैन्य गठबन्धन बनाएको छैन। तर दुवै देशले संयुक्त सैन्य अभ्यासलाई विस्तार गरेका छन्। “ज्वाइन्ट सी” नामक नौसैनिक अभ्यास सन् २०१२ देखि सञ्चालन हुँदै आएको छ । गत वर्ष जापान सागर क्षेत्रमा चीन र रुसले संयुक्त सैन्य अभ्यास गरेका थिए, जसमा पनडुब्बी उद्धार, हवाई प्रतिरक्षा, मिसाइल प्रतिरक्षा तथा समुद्री युद्ध अभ्यास समावेश थियो।

Leave Your Comment

Related News