काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकमा उनले प्रधानमन्त्री संसद र नेपाली जनताप्रति जवाफदेही नभएको भन्दै राजीनामा दिनुपर्ने बताए ।
राईले प्रतिनिभि सभा नियमवली, २०७९ को नियम १५(२) नेपाल सरकारको प्रधानमन्त्रीले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनुपर्ने हो वा होइन ? भनि प्रश्न गरेका छन् ।
बैठकमा उनले सभामुख समक्ष वैशाख २८ गते र २९ गते आफूले केही प्रश्नहरु राखेका जुन गृह, रक्षा र अन्य मन्त्रालयसँग सम्वन्धित थियो ती प्रश्नहरुको उत्तर प्रधानमन्त्रीले आएर दिनुपर्छ भन्ने आफनो माग रहेको बताए ।
सांसद राईले प्रधानमन्त्रीले मन्त्रिपरिषदको विस्तार नगरेको कारण जवाफ दिनुपर्ने बताए । ‘ प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्नु भएको छैन । गृहको पनि प्रधानमन्त्रीले जिम्मेवारी लिइ रहेको कारणले गर्दा सुकुम्बासी शान्ति सुरक्षासँग सम्वन्धित मेरा प्रश्न थिए । र सीमा सम्वन्धी लिपुलेक सम्वन्धीहरु प्रश्नहरु थिए । हामीले उठाएको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ । हामीले बनाएको नियम अनुरुप,’ उनले भने ।
२८ गते राखेको प्रश्न आजसम्म गन्दा एक साता भइसक्दा जवाफ नआउनु गलत भएको उनको तर्क थियो । ‘संसद नियमावली अनुसार सात दिन भित्र सांसदले उठाएको प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था रहेको छ । म सभामुखमार्फत् प्रश्न गर्न चाहान्छु प्रधानमन्त्री संसदको सदस्य हो की होइन । यो देशमा संसद छ कि छैन यो संसदको गरिमा जोगाउनु पर्छ कि पर्दैन । कर्तव्य पुरा गर्नु पर्छ वा पर्छैन । यदि प्रधानमन्त्रीले कर्तव्य पु्रा गर्न सक्नु हुन्न भने मार्ग प्रशस्त गर्नुपर्छ ,’ उनले भने ,‘लोकतन्त्रद्धारा स्थापित नेपाली जनताको मतद्धारा स्थापित संसदप्रति जवाफदेही हुनुहुन्न भने । को प्रति प्रधानमन्त्री जवाफदेही हुनुहुन्छ ? शंका गर्ने ठाउँ छ यहाँ । कोही न कोही प्रति त उहाँ जवाफदेही हुनुपर्छ । ’


