काठमाडौं । पश्चिम एशियामा जारी तनाव र होर्मुज जलडमरूमध्य (Strait of Hormuz) बन्द भएपछि यसको प्रत्यक्ष असर विश्व ऊर्जा बजारमा देखिन थालेको छ । भारतले सन् २०२६ अप्रिलमा कच्चा तेल आयातको परिमाण ४.३ प्रतिशतले घटाए पनि आयात खर्च भने झण्डै ५० प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
सरकारी प्रारम्भिक तथ्यांकअनुसार भारतका तेल विपणन कम्पनीहरूले गत वर्षको अप्रिलमा १०.७ अर्ब अमेरिकी डलर बराबरको कच्चा तेल आयात गरेका थिए । तर यस वर्षको अप्रिलमा सोही परिमाण घट्दा पनि आयात बिल बढेर १६.३ अर्ब डलर पुगेको छ । यसले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य अत्यधिक बढेको संकेत गरेको छ ।
विशेषगरी होर्मुज जलडमरूमध्य बन्द भएपछि मध्यपूर्वबाट हुने तेल तथा ग्यास आपूर्तिमा अवरोध आएको छ । विश्वको ठूलो ऊर्जा आपूर्ति यही मार्ग हुँदै हुने भएकाले संकटले अन्तर्राष्ट्रिय बजारमा मूल्य चर्काएको विश्लेषण गरिएको छ ।
यस्तै, भारतको एलएनजी (Liquified Natural Gas) आयात पनि करिब ३० प्रतिशतले घटेको छ । यद्यपि घरेलु प्राकृतिक ग्यास उत्पादन ४.२ प्रतिशतले घटे पनि खपत कम भएकाले आयातमा कमी आएको बताइएको छ ।
ऊर्जा विज्ञहरूका अनुसार पश्चिम एशियाको तनाव लम्बिँदै गए भारतसहित ऊर्जा आयातमा निर्भर मुलुकहरूमा महँगी थप बढ्न सक्छ । तेलको मूल्य वृद्धि हुँदा यातायात, उद्योग, विद्युत उत्पादन तथा दैनिक उपभोग्य वस्तुको लागतसमेत बढ्ने भएकाले यसको असर समग्र अर्थतन्त्रमा पर्ने देखिएको छ ।
भारत विश्वकै ठूलो कच्चा तेल आयातकर्तामध्ये एक भएकाले त्यहाँको आयात खर्च वृद्धि हुनु दक्षिण एशियाली अर्थतन्त्रका लागि पनि चिन्ताको विषय मानिएको छ । नेपालजस्ता मुलुकले भारतमार्फत इन्धन आयात गर्ने भएकाले आगामी दिनमा पेट्रोलियम पदार्थको मूल्यमा थप दबाब आउन सक्ने अनुमान गरिएको छ ।


