काठमाडौं । नेपाल बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई लक्षित गर्दै विभिन्न होटल तथा स्वास्थ्य संस्थासँग सहुलियतसम्बन्धी सम्झौता गरेको छ । बैंकले पोखरा, नुवाकोट र विराटनगरस्थित संस्थाहरूसँग छुट सुविधा प्रदान गर्ने उद्देश्यले सम्झौता गरेको जनाएको छ ।
बैंक र डालिया होटल प्रालि बीच भएको सम्झौताअनुसार नेपाल बैंकमा खाता रहेका ग्राहक तथा बैंकका कर्मचारीहरूले पोखरा–६ लेकसाइडस्थित होटलले प्रदान गर्ने विभिन्न सेवामा १० प्रतिशतदेखि ३५ प्रतिशतसम्म छुट पाउने भएका छन् । उक्त सम्झौतापत्रमा बैंकका बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र होटलकी बिक्री निर्देशक सिता रायमाझीले हस्ताक्षर गरेका हुन् ।
त्यसैगरी, बैंकले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ मा रहेको कोटबारी होटल प्रालिसँग पनि सहुलियत सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकका कर्मचारी, उनीहरूका परिवारका सदस्य तथा बैंकका ग्राहकहरूले रिसोर्टका विभिन्न सेवामा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । सम्झौतामा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र रिसोर्टका महाप्रबन्धक आनन्द सिंह ठकुरीले हस्ताक्षर गरेका थिए ।
यस्तै, न्युरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटल प्रालि सँग भएको सम्झौताअनुसार नेपाल बैंकका कर्मचारी तथा ग्राहकहरूले अस्पतालका विभिन्न स्वास्थ्य सेवामा ५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुट पाउने भएका छन् । उक्त सम्झौतामा बैंकको तर्फबाट कोशी प्रादेशिक कार्यालय प्रमुख सूर्यप्रकाश भट्ट तथा अस्पतालका निर्देशक राजेश भट्टराईले हस्ताक्षर गरेका थिए ।


