काठमाडौं । परराष्ट्र मन्त्रालयले भारतीय टी बोर्डले जारी गरेको निर्देशिकाका कारण प्रभावित बनेको नेपाली चिया निर्यात समस्या समाधानतर्फ गएको जनाएको छ। शुक्रबार आयोजित नियमित प्रेस ब्रिफिङमा मन्त्रालयले नेपाल सरकार र नयाँदिल्लीस्थित नेपाली दूतावासको पहलपछि भारतीय टी बोर्डले मे १९ मा निर्देशिका संशोधन गरेको जानकारी दिएको हो।
मन्त्रालयका अनुसार संशोधित व्यवस्थापछि नेपालबाट भारततर्फ हुने चिया निकासी प्रक्रिया सहज हुने अपेक्षा गरिएको छ। यसअघि भारतीय पक्षले जारी गरेको निर्देशिकाका कारण नेपाली चिया निर्यात प्रभावित बनेको थियो।
त्यस्तै मन्त्रालयले दक्षिण–पूर्वी एसियाका विभिन्न अनलाइन स्क्यामिङ सेन्टरमा फसेका नेपालीहरूको उद्धार कार्य जारी रहेको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो दुई सातामा थप ७१ नेपाली नागरिकको उद्धार गरिएको छ।
हालसम्म कम्बोडिया, म्यानमार, लाओस र थाइल्यान्डबाट कुल ६८७ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको जानकारी दिइएको छ। कम्बोडियाका विभिन्न जेलमा रहेका नेपालीहरूको रिहाइ तथा उद्धारका लागि समेत पहल भइरहेको मन्त्रालयले जनाएको छ।
यसैबीच राहदानी विभागमा नयाँ ‘एन्ड–टु–एन्ड’ प्रणाली कार्यान्वयनको तयारी अन्तिम चरणमा पुगेको पनि मन्त्रालयले जनाएको छ। आगामी असार महिनाको अन्तिम सातादेखि पुरानो प्रणाली बन्द गरी नयाँ प्रणाली लागू गरिने तयारी भइरहेको मन्त्रालयको भनाइ छ।
हाल विभागमा आवेदन दिएको भोलिपल्ट राहदानी जारी हुने व्यवस्था रहेको र विदेशस्थित नेपाली नियोग तथा जिल्ला प्रशासन कार्यालयमार्फत आवेदन दिएका सेवाग्राहीलाई ७ देखि १२ दिनभित्र राहदानी उपलब्ध गराउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।


