काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या घटेको छ। निकुञ्ज प्रशासनका अनुसार गत आर्थिक वर्षको वैशाखसम्म एक लाख ८३० विदेशी पर्यटकले भ्रमण गरेकामा चालु आर्थिक वर्षको सोही अवधिमा यो सङ्ख्या घटेर ८९ हजार ६३० मा पुगेको छ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार गत वर्ष सार्क मुलुकका १८ हजार ९३३ र तेस्रो मुलुकका ८१ हजार ८९७ पर्यटकले निकुञ्ज भ्रमण गरेका थिए। चालु आर्थिक वर्षमा भने सार्क मुलुकका १३ हजार ९९२ तथा तेस्रो मुलुकका ७५ हजार ६३८ पर्यटक मात्रै निकुञ्ज पुगेका छन्।
विदेशी पर्यटक घटे पनि आन्तरिक पर्यटकको सङ्ख्या भने उल्लेख्य रूपमा बढेको छ। गत आर्थिक वर्षको वैशाखसम्म एक लाख तीन हजार ६७२ नेपाली पर्यटकले निकुञ्ज भ्रमण गरेकामा यस वर्ष यो सङ्ख्या बढेर एक लाख ३७ हजार २४६ पुगेको निकुञ्जले जनाएको छ।
सूचना अधिकारी थापामगरले नेपालमा भएको ‘जेनजी’ प्रदर्शनपछि देखिएको राजनीतिक अवस्था तथा मध्यपूर्वमा जारी द्वन्द्वका कारण विदेशी पर्यटक आगमन प्रभावित भएको बताए। पछिल्लो समय नेपालीहरू घुमफिरमा आकर्षित भएकाले आन्तरिक पर्यटन बढेको उनको भनाइ छ।
“सरकारले सातामा दुई दिन बिदा दिएका कारण पनि आन्तरिक पर्यटक बढेका हुन सक्छन्,” उनले भने। गत वर्ष फागुनदेखि वैशाखसम्म ३४ हजार २०२ आन्तरिक पर्यटक निकुञ्ज पुगेकामा यस वर्ष सोही अवधिमा ४७ हजार ६६१ पुगेका छन्।
चितवन राष्ट्रिय निकुञ्ज तथा आसपासका मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, जिप सफारी, पैदल भ्रमण तथा डुङ्गा सयरका लागि पर्यटक पुग्ने गरेका छन्। यहाँ दुर्लभ एकसिङ्गे गैँडा, पाटेबाघ, घडियाल गोही, भालु, चित्तललगायत वन्यजन्तु अवलोकन गर्न पर्यटक आउने गरेका छन्।
यस आर्थिक वर्षमा निकुञ्जले पर्यटकबाट २३ करोड पाँच लाख ५० हजार ६०० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ। त्यसबाहेक काठदाउरा बिक्रीबाट ७१ हजार ३५०, गैरकाठ वन पैदावार बिक्रीबाट एक करोड ९५ लाख ३१ हजार ७५५, दण्ड–जरिवानाबाट १० लाख ७१ हजार ९०४ तथा अन्य शीर्षकबाट १५ लाख २२ हजार ४०५ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ।


