काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा विराटनगर महानगरपालिका-४ स्थित होटल मनास्लु इनमा आइतबार आयोजित समारोहबीच लागूऔषध विरूद्धको महाअभियान (Mega Campaign Against Narcotics-Mega CAN ) २०८३ कार्यक्रम शुभारम्भ भएको छ । मुख्यमन्त्री कार्कीले पानसमा दीप प्रज्जवलन गरी उक्त महाअभियानको शुभारम्भ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित उक्त कार्यक्रमको सुरूमा लागूऔषध दुर्व्यसन मुक्त समाज निर्माण गर्ने साझा उद्देश्यका साथ लागूऔषध विरूद्धको सचेतनामुलक प्लेकार्ड सहित विराटनगरको महेन्द्र चोकबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी वल, विभिन्न सरकारी कार्यालय, विभिन्न संघसंस्था, संचारकर्मी, स्काउट, विद्यार्थी, युवा वर्ग सहितको प्रभातफेरी र्याली जलजला चोक, गोल्छामोड हुँदै रंगशालामा पुगेर सम्पन्न भएको थियो ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले लागूऔषध दुर्व्यसन समाजका लागि गम्भीर समस्या बन्दै गएको उल्लेख गर्दै यसको नियन्त्रणका लागि सरकार, सुरक्षा निकाय, स्थानीय तह, अभिभावक तथा युवाहरूको सामुहिक प्रयास आवश्यक रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङद्वारा सञ्चालित लागूऔषध विरूद्धको महाअभियानले समाजमा सकारात्मक सन्देश तथा चेतना फैल्याई युवापुस्तालाई कुलतबाट जोगाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्दै यस्तो अभियानमा प्रदेश सरकारको निरन्तर साथ, सहयोग र प्रतिबद्धता रहने विश्वास व्यक्त गरे ।
कार्यक्रममा कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्र मणि पराजुली, प्रतिनिधि सभाका सांसद सन्तोष राजबंशी, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोईराला, नेपाल सरकार गृह मन्त्रालय निति, योजना अनुगमन तथा मुल्याङकन महाशाखाका सहसचिव एवम् लागूऔषध नियन्त्रक सुमन घिमिरे, मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार लीलावल्भ घिमिरे, एबिसी नेपाल कोशी प्रदेश प्रमुख विष्णु शर्मा लगायतले लागूऔषध विरूद्धको ऐक्यबद्धता सहितको मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले सुरक्षित समाज र उज्ज्वल भविष्यको निम्ति जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध मुक्त जिल्ला बनाउन सबैको सहकार्यका साथ सुरूवात गरेको यस महाअभियान लागूऔषध विरूद्ध सक्रिय हुँदै देशव्यापीरूपमा अघि बढ्न सफल हुने बताए ।
समाजलाई अन्धकारतर्फ धकेल्दै आएको लागूऔषधको जालोलाई तोड्न यस अभियान महत्वपूर्ण हुने उल्लेख गर्दै लागूऔषध नियन्त्रण केवल प्रहरीको मात्रै दायित्व नभई परिवार, विद्यालय, स्थानीय तह, सञ्चार माध्यम तथा सम्पूर्ण समुदायको साझा जिम्मेवारी भएको बताउँदै सबै पक्षको सहकार्यबाट मात्रै स्वस्थ, सुरक्षित र समुन्नत समाज निर्माण सम्भव हुने उनले बताए ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले धन्यवाद मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरिक्षक कबित कटवालले महाअभियानको औचित्य, उद्देश्य तथा मोरङ जिल्लामा लागूऔषध दुर्ब्यसनको वर्तमान अवस्था र चुनौतीबारेमा प्रस्तुतीकरण गरेका थिए। सो अवसरमा कोशी अस्पतालकी डा.अजिता पौडेलले लागूऔषध दुर्ब्यसनका कारण मानव स्वास्थ्यमा पर्ने असरको बारेमा सचेतना प्रदान गरेका थिए ।
कार्यक्रममा अन्धकारबाट उज्यालोतर्फ शीर्षकमा नाटक सहित लागूऔषध विरूद्ध सचेतनामुलक सांगीतिक प्रस्तुतिहरूका साथै लागूऔषध दुर्व्यसन र प्रभाव सम्बन्धी वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वर राई, कोशी प्रदेशका प्रमुख सचिव, जिल्लास्थित नगरपालिकाका प्रमुखहरू, गाउँपालिकाका प्रमुखहरू, पूर्वी पृतना हेड क्वाटर इटहरीका उपरथी, उच्च अदालत विराटनगरका न्यायाधीशहरू, प्रदेश स्तरीय सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, उद्योग वाणिज्य संघका प्रमुख तथा प्रतिनिधिहरू, बैंक, वित्तीय संस्था, बिमा कम्पनीका प्रमुख तथा प्रतिनिधिहरू, सरकारी कार्यालय, संघसंस्था, सञ्चारकर्मी, शिक्षक, विद्यार्थी, खेलाडी, नागरिक समाज, बुद्दिजिवी लगायत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


