CLI

प्रतिनिधिसभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधिसभाको बैठकबाट निर्वाचनसम्बन्धी दुई विधेयक सर्वसम्मतिबाट पारित भएको छ । मंगलबारकाे बैठकमा प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ती विधेयक पारितका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि तत्कालीन सरकारले ल्याएका निर्वाचन कानुन संशोधनसम्बन्धी अध्यादेशहरू विस्थापन गर्न हाल यी विधेयक प्रस्तुत भएका हुन् ।

पारित विधेयकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ छन् ।

‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफलमा सांसद प्रेमबहादुर बयकले भाग लिँदै निर्वाचनमा समानुपातिकतर्फ अपाङ्गता भएका व्यक्तिको निर्वाचनमा सहभागितालाई थप सुनिश्चित गर्न आग्रह गरे ।

जवाफमा मन्त्री गौतमले कानुनमा जनसंख्याकाे प्रतिशतका आधारमा जातीय समावेशिता कायम हुने भएको सम्पन्न भइसकेको निर्वाचनका सन्दर्भमा उक्त कानुन ल्याएकाले आगामी निर्वाचनका सन्दर्भमा विचार गरिने विश्वास दिलाइन् ।

‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफावार छलफलका लागि भने कुनै पनि सदस्यले नाम दिएका थिएनन् । प्रतिनिधिसभाको अर्काे बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।

Leave Your Comment

Related News