CLI

मध्यपूर्वका अमेरिकी सैन्य अड्डा अब सुरक्षित छैनन् : इरानी सर्वोच्च नेता

काठमाडौं । इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा अब सुरक्षित नरहेको बताएका छन् । हज यात्राको सुरुवातको अवसरमा जारी सन्देशमा उनले अब क्षेत्रीय देशहरु अमेरिकी सैन्य अड्डाका लागि ‘ढाल’ नबन्ने बताएका हुन् । यो अभिव्यक्ति अमेरिकाले दक्षिणी इरानमा नयाँ सैन्य आक्रमण गरेपछि आएको हो ।

यता, अमेरिकी सेनाले आफ्ना सैनिकको सुरक्षाका लागि ‘रक्षात्मक आक्रमण’ गरिएको जनाएको छ । अमेरिकी सेनाका अनुसार इरानी मिसाइल प्रक्षेपण स्थल र समुद्रमा माइन राख्न खोजिरहेका डुंगालाई निशाना बनाइएको थियो ।

इरानले भने युद्धविरामको उल्लंघन गर्दै अमेरिकाले आक्रमण गरेको आरोप लगाएको छ । इरानी विदेश मन्त्रालयले यस कदमलाई “आक्रामक र अनुचित” भन्दै त्यसको सम्पूर्ण जिम्मेवारी अमेरिकाले लिनुपर्ने जनाएको छ ।

फेब्रुअरी अन्त्यदेखि सुरु भएको तनावपछि इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा र ऊर्जा पूर्वाधारलाई पटक–पटक निशाना बनाउँदै आएको छ । मार्चमा कुवेतमा भएको ड्रोन आक्रमणमा ६ अमेरिकी सैनिक मारिएका थिए ।

यसबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता लगभग तयार भएको बताएका छन् । उक्त सम्झौतामा हर्मुज जलडमरू पुनः सञ्चालन गर्ने र दुवै पक्षबीचको तनाव अन्त्य गर्ने विषय समावेश रहेको जनाइएको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले कतारको मध्यस्थतामा वार्ता जारी रहेको जानकारी दिएका छन् । उनले प्रारम्भिक सम्झौताका धेरै विषयमा सहमति नजिक पुगे पनि केही बुँदामा अझै छलफल भइरहेको बताएका छन् ।

Leave Your Comment

Related News