काठमाडौं । डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले अमेरिकी ग्रीन कार्ड प्रक्रियामा ठूलो परिवर्तन गर्दै अधिकांश आवेदकलाई अब आफ्नो देशबाट मात्र आवेदन दिनुपर्ने व्यवस्था लागू गरेको छ । अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (USCIS) का अनुसार अब सामान्य अवस्थामा अमेरिकाभित्र बसेर ग्रीन कार्डको प्रक्रिया पूरा गर्न पाइने छैन ।
आवेदकहरुले आफ्नै देशमा रहेको अमेरिकी दूतावास वा कन्सुलेटमार्फत आवेदन दिनुपर्नेछ । यस नीतिबाट अमेरिकामा अस्थायी भिसामा रहेका विद्यार्थी, कामदार तथा अमेरिकी नागरिकका परिवारजन प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।
युएससीआइएसले भने केही असाधारण परिस्थितिमा मात्र अमेरिकाभित्रबाट आवेदन दिने अनुमति मिल्ने जनाएको छ । आर्थिक वा राष्ट्रिय हितमा योगदान दिने व्यक्तिहरुलाई मात्र यस्तो छुट मिल्न सक्ने बताइएको छ । तर एच-१बी जस्ता दक्ष कामदार भिसाधारीलाई छुट हुन्छ वा हुँदैन भन्ने स्पष्ट गरिएको छैन ।
आप्रवासन अधिकारकर्मीहरुले यो निर्णयले परिवार छुट्टिन सक्ने, प्रक्रिया ढिलो हुने र धेरै आप्रवासी प्रभावित हुने चेतावनी दिएका छन् । केही कानुनी चुनौती पनि आउन सक्ने अनुमान गरिएको छ । यस नीतिले अमेरिकी आप्रवासन प्रणालीलाई थप कडा बनाउने र कानुनी आप्रवासन प्रक्रियामा समेत ठूलो परिवर्तन ल्याउने देखिएको छ ।


