CLI

बैंक तथा वित्तीय संस्थामा थुप्रियो निक्षेप, ७७ खर्ब ४५ अर्ब पुग्यो

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा निक्षेप रकममा वृद्धि भएको छ । चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ६.६४ प्रतिशतले वृद्धि भई रु. ७७ खर्ब ४५ अर्ब ८८ करोड पुगेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले वृद्धि भई रु. ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको आर्थिक सर्वेक्षण २०८२/८३ को प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै प्रतिवेदन अनुरुप डिजिटल भुक्तानीतर्फ उल्लेख्य सुधार भएको छ । २०८२ फागुनसम्म क्यूआरमा आधारित कारोबार रु. १ खर्ब २५ अर्बभन्दा बढी पुगेको छ। यता नेप्से भने २०८२ फागुन मसान्तसम्म नेप्से सूचकाङ्क २८२०.४५ बिन्दु कायम भएको छ। यस अवधिमा कुल बजार पूँजीकरण रु. ४७ खर्ब ४४ अर्ब पुगेको छ। डिम्याट खाता खोल्नेको संख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसंख्याको करिब २६.० प्रतिशत हो।
यसैगरी चालु आर्थिक वर्षको फागुनसम्म कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भएको बताइएको छ । समीक्षा अवधिमा व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई रु. १० खर्ब ९८ अर्ब १४ करोड पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले बढेको थियो। कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.९ प्रतिशत पुगेको छ।

चालु आर्थिक वर्षमा विप्रेषण आप्रवाह बढेको छ । सर्वेक्षण अनुरुप चालु आर्थिक वर्षको फागुनसम्म विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले वृद्धि भई रु. १४ खर्ब ४९ अर्ब ७० करोड पुगेको छ। विप्रेषण आप्रवाहमा भएको उच्च वृद्धिका कारण शोधनान्तर स्थिति रु. ६ खर्ब ५८ अर्बले बचतमा रहेको छ भने चालु खाता रु. ५ खर्ब ५२ अर्ब ८५ करोडले बचतमा रहेको छ।

सर्वेक्षण अनुरुप् विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। २०८२ फागुनसम्म कुल सञ्चिति रु. ३४ खर्ब १३ अर्ब ७७ करोड पुगेको छ। यस्तो सञ्चिति १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ। सामाजिक क्षेत्रका परिसूचकमा सकारात्मक सुधार हुँदै गएको छ। निरपेक्ष गरिबी २०.२७ प्रतिशत र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ। उपभोगमा आधारित जिनी गुणक ०.३० र लैंगिक विकास सूचकाङ्क ०.८८५ रहेको छ।

Leave Your Comment

Related News