काठमाडौं । अर्थ मन्त्रालयले लगानी बोर्ड नेपाल र उद्योग विभागबाट आउने विदेशी लगानी खर्बौं पुगेको जनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लले लगानी बोर्ड र विभागमार्फ ५४ खर्ब ४४ अर्ब ६ करोड लगानी स्वीकृत भएको बताए । संसदको दुवै सदनमा चालु आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण जारी गर्दै उनले सो कुरा बताएका हुन् ।
सर्वेक्षण अनुरुप चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागबाट रु. ३ खर्ब ८९ अर्ब ७४ करोड र लगानी बोर्ड नेपालबाट रु. १ खर्ब २ अर्ब २६ करोड गरी रु. ४ खर्ब ९२ अर्ब बराबरको लगानी स्वीकृत भएको छ। यससँगै २०८२ फागुनसम्म उद्योग क्षेत्रमा रु. ५४ खर्ब ४४ अर्ब ६ करोड बराबरको कुल लगानी स्वीकृत भएको छ।
यसैगरी चालु आर्थिक वर्षको फागुनसम्म उद्योग विभागमा ९२१ थप उद्योग दर्ता भई २०८२ फागुनसम्म दर्ता भएका उद्योगको संख्या ११ हजार १ सय ४० पुगेको छ। दर्ता भएका उद्योगबाट करिब ७ लाख ८५ हजार रोजगारी सिर्जना हुने अनुमान छ। २०८२ फागुनसम्म उद्योग विभागमा कुल ७ हजार ९ सय ५१ परियोजनामा रु. ६ खर्ब २५ अर्ब ५८ करोड बराबरको विदेशी लगानी स्वीकृत भएको छ। स्वीकृत वैदेशिक लगानीमध्ये सबैभन्दा बढी सेवा उद्योगमा २८.३ प्रतिशत र सबैभन्दा कम खनिज उद्योगमा १.३ प्रतिशत रहेको छ।
कम्पनीको हकमा भने २०८२ फागुनसम्म दर्ता भएका कम्पनीको संख्या ३ लाख ६९ हजार ६ सय ४६ पुगेको छ। दर्ता भएका कम्पनीमध्ये प्राइभेट लिमिटेड कम्पनी सबैभन्दा बढी ९७.५ प्रतिशत र अन्य कम्पनी २.५ प्रतिशत रहेका छन्।


