काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको संख्या उल्लेख्य रूपमा बढेको छ । चालु आर्थिक वर्षको फागुनसम्म दोस्रो बजारमा अनलाइन कारोबारका लागि लग-इन गर्ने लगानीकर्ताको संख्या ३१ लाख ८२ हजार ४ सय ६२ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या २५ लाख ४९ हजार ६ सय ९६ रहेको थियो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणमा नेपालको धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता र डिजिटल पहुँच दुवै उल्लेख्य रूपमा विस्तार हुँदै गएको जनाइएको छ ।
जसअन्तर्गत ओटीसी बजारमा कारोबार वृद्धि, डिम्याट तथा मेरो सेयर खाताको संख्या बढोत्तरी, अनलाइन कारोबार गर्ने लगानीकर्ताको संख्या ३१ लाख नाघ्नु तथा सीडीएससीमा अभौतिकरण र निक्षेप सदस्यको विस्तारले बजारको गतिविधि तीव्र बनेको देखिएको छ ।
यता, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडअन्तर्गत दोस्रो बजार कारोबारमा सूचीकृत नभएका पब्लिक कम्पनीका धितोपत्र खरिद–बिक्रीका लागि सञ्चालन हुँदै आएको ओभर द काउण्टर (ओटीसी) बजारमा चालु आर्थिक वर्षको फागुनसम्म रु. ३ अर्ब २८ करोड बराबरको कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार रु. १ अर्ब ७९ करोड रहेको थियो ।
साथै, धितोपत्र बजारमा लगानीकर्ताको सहभागिता उल्लेख्य रूपमा बढेको देखिएको छ । २०८२ फागुनसम्म डिम्याट (हितग्राही) खाताको संख्या ७६ लाख ३९ हजार पुगेको छ, जुन कुल जनसंख्याको करिब २६.२ प्रतिशत हो । अघिल्लो वर्ष २०८२ असारसम्म यस्तो संख्या ६९ लाख ९७ हजार रहेको थियो ।
त्यसैगरी, मेरो सेयर खाताको संख्या पनि ६६ लाख १३ हजार पुगेको छ, जुन कुल जनसंख्याको करिब २२.७ प्रतिशत हो । अघिल्लो वर्ष यो संख्या ५९ लाख ७६ हजार थियो । यसैबीच, सिडिएस एण्ड क्लियरिङ लिमिटेड (CDSC) मा अभौतिकृत धितोपत्रको संख्या गत वर्षको तुलनामा २३.६ प्रतिशतले वृद्धि भई रु. १५ अर्ब ९० करोड ५५ लाख पुगेको छ । यस अवधिमा २७३ कम्पनीले धितोपत्र अभौतिकरण गरेका छन् ।
त्यस्तै, निक्षेप सेवा प्रदान गर्न २०८२ फागुनसम्म CDSC का १२२ निक्षेप सदस्य (Depository Participants) ले सदस्यता प्राप्त गरेका छन् ।


