काठमाडौं । मुलुकको कुल गार्हस्थ्य बचत र कुल राष्ट्रिय बचतमा सुधार भएको छ। गत आर्थिक वर्ष कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचत ६.९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा २.८ प्रतिशत बिन्दुले सुधार भई ९.७ प्रतिशत पुग्ने अनुमान छ। पछिल्लो दशकमा कुल गार्हस्थ्य उत्पादनमा कुल गार्हस्थ्य बचत औसत ९.२ प्रतिशत रहेको थियो।
आर्थिक सर्वेक्षण २०८२/८३ प्रतिवेदन विप्रेषण आप्रवाहमा भएको उल्लेख्य वृद्धि, लगानी सङ्कुचन लगायतका कारण कुल राष्ट्रिय बचत बढ्दै गएको छ। चालु आर्थिक वर्षमा कुल राष्ट्रिय बचत कुल गार्हस्थ्य उत्पादनको ४४.७७ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो अनुपात ३८.३९ प्रतिशत रहेको थियो। पछिल्लो दशकमा कुल गार्हस्थ्य उत्पादनमा कुल राष्ट्रिय बचत वार्षिक औसत ३७.० प्रतिशत रहेको छ।



