CLI

१० वर्षमा वैदेशिक रोजगारीमा गएका ११ हजारभन्दा बढी नेपालीको मृत्यु, सरकारी सहायता ६ अर्बभन्दा बढी

काठमाडौं । पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीका क्रममा ११ हजार ७८० नेपालीले ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक भएको छ। आर्थिक सर्वेक्षणअनुसार गत आर्थिक वर्षमा मात्रै १ हजार ५८६ नेपाली कामदारको मृत्यु भएको छ, जसमा १ हजार ५० पुरुष र ३६ महिला रहेका छन्।

सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ मा मृत्यु हुने संख्या सबैभन्दा कम रहेको छ । उक्त वर्ष ६६१ नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भएको थियो, जसमा ६४५ पुरुष र १६ महिला थिए । चालू आर्थिक वर्षको फागुनसम्म मात्र १ हजार ८६ नेपाली कामदारको मृत्यु भएको उल्लेख गरिएको छ।

सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई पछिल्लो १० वर्षमा क्षतिपूर्तिबापत ६ अर्ब ३८ करोड ४४ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ। गत आर्थिक वर्षमा मात्रै १ अर्ब ११ करोड ९४ लाख रुपैयाँ वितरण गरिएको थियो।

त्यसैगरी, चालू आर्थिक वर्षको फागुनसम्म मृतकका परिवार तथा नजिकका हकवालालाई ६३ करोड २२ लाख रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको छ।

यस्तै, वैदेशिक रोजगारीका क्रममा घाइते भई शारीरिक रूपमा अङ्गभङ्ग तथा बिरामी भएका ६०१ कामदारले आर्थिक सहायता प्राप्त गरेका छन्। साथै, वैदेशिक रोजगारीमा मृत्यु भएका श्रमिकका ३ हजार ४ सय ८७ जना सन्ततिले शैक्षिक छात्रवृत्ति सुविधा पाएको पनि तथ्याङ्कमा उल्लेख छ।

Leave Your Comment

Related News