काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) कार्य सम्पन्न भएसँगै संघीय पुलअन्तर्गत कुल १ हजार ८०८ दरबन्दी स्वीकृत भएको छ । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला एवं सामान्य प्रशासन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भइसकेको मन्त्रालयले जनाएको छ।
मौजुदा ८३१ दरबन्दीमा ९७७ नयाँ दरबन्दी थप गरी कुल संख्या १ हजार ८०८ पुर्याइएको हो । मन्त्रालयका अनुसार अब छिट्टै लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ।
स्वीकृत दरबन्दीमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूको संख्या उल्लेखनीय रूपमा बढाइएको मन्त्रालयले जनाएको छ। यसले स्वास्थ्य सेवाको जनशक्ति व्यवस्थापन तथा विशेषज्ञ सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्रालयले हाल स्वीकृत भएको सूची ‘संघीय पुल दरबन्दी’ को संरचना मात्र भएको स्पष्ट पारेको छ। सिएमए, अहेब, अनमीलगायत प्राविधिक सहयोग तहका स्वास्थ्यकर्मीहरूको हकमा भने प्रदेश तथा स्थानीय तहमा निकट भविष्यमै ठूलो संख्यामा दरबन्दी खुल्ने जानकारी पनि मन्त्रालयले दिएको छ।


