CLI

सिटिजन्स बैंकको विशेष साधारण सभा सम्पन्न, २ अर्बको अग्राधिकार शेयर जारी गर्ने निर्णय

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आठौं विशेष साधारण सभा बुधबार काठमाडौंस्थित नारायणहिटी पथमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा सम्पन्न सभाले बैंकको पुँजी संरचना सुदृढ बनाउन महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

सभाले बैंकको जोखिम वहन क्षमता अभिवृद्धि तथा वित्तीय आधार मजबुत बनाउने उद्देश्यले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार (Perpetual Non-Cumulative Preference Share) शेयर जारी गर्ने प्रस्ताव अनुमोदन गरेको छ। बैंकका अनुसार यस निर्णयले प्राथमिक पुँजीकोष अनुपात सुदृढ पार्नुका साथै व्यवसाय विस्तार र दीर्घकालीन वित्तीय स्थायित्वमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विशेष साधारण सभाले चार जना सञ्चालक पनि निर्वाचित गरेको छ। समूह ‘क’ संस्थापक शेयरधनीतर्फबाट अनिल कुमार ज्ञवाली निर्वाचित भएका छन् भने समूह ‘ख’ सर्वसाधारण शेयरधनीतर्फबाट प्रकाशचन्द्र मैनाली, डा. राजेन्द्र पण्डित र हिमादेवी खड्का केसी निर्वाचित भएका छन्।

बैंकले निर्वाचित सञ्चालकहरू बैंकिङ, वित्त, नीति विश्लेषण तथा अन्तर्राष्ट्रिय विकास क्षेत्रका अनुभवी व्यक्तित्व रहेको जनाएको छ। अनिल कुमार ज्ञवालीले नेपालका प्रमुख वाणिज्य बैंक तथा पूर्वाधार बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् भने अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा समेत अनुभव हासिल गरेका छन्।

त्यसैगरी प्रकाशचन्द्र मैनाली लामो समयदेखि बैंकिङ तथा सेवामूलक उद्योग क्षेत्रमा सक्रिय छन्। डा. राजेन्द्र पण्डितले नेपाल राष्ट्र बैंकमा दुई दशकभन्दा बढी समय विभिन्न जिम्मेवारी सम्हाल्दै नीति तथा विश्लेषण क्षेत्रमा विशेषज्ञता हासिल गरेका छन्। हिमादेवी खड्का केसीले अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा करिब दुई दशक नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव राख्ने बैंकले जनाएको छ।

बैंकले हाल ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको जनाएको छ।

Leave Your Comment

Related News