CLI
Global College

नबिल बैंक लिमिटेडको क्रेडिट रेटिङ पुनः पुष्टि,“वाच विथ नेगेटिभ इम्प्लिकेसन्स” हट्यो

काठमाडौं । पूँजी कोष र जोखिम भारित सम्पत्ति अनुपातमा सुधार आएसँगै रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले नबिल बैंक लिमिटेडको क्रेडिट रेटिङ पुनः पुष्टि गरेको छ। बैंकको इस्युअर रेटिङ ‘[ICRANP-IR] A’ (इक्राएनपी आइआर ए) कायम गरिएको छ। यस रेटिङले बैंकले आफ्ना वित्तीय दायित्वहरु समयमै पूरा गर्ने मामलामा पर्याप्त सुरक्षा रहेको संकेत गर्दछ र यस्ता संस्थाहरुमा कर्जा जोखिम कम हुने गर्दछ।

यसका साथै, इक्रा नेपालले बैंकको सबोर्डिनेटेड ऋणपत्रलाई प्रदान गरेको रेटिङलाई पनि ‘[ICRANP] LA’ (इक्रा एनपी एल ए) मा पुनः पुष्टि गर्दै यसमा रहेको “वाच विथ नेगेटिभ इम्प्लिकेसन्स”  लाई हटाएको छ। यस्तो रेटिङ पाएका उपकरणहरुमा वित्तीय दायित्वहरु समयमै भुक्तानी गर्ने सन्दर्भमा पर्याप्त सुरक्षा भएको मानिन्छ र यस्ता उपकरणहरुमा कर्जा जोखिम कम हुन्छ।

इक्रा नेपालले नबिल बैंकको पूँजीकरण र सम्पत्तिको गुणस्तरमा आएको सुधारलाई मुख्य आधार मान्दै यसको इस्युअर रेटिङमा रहेको नकारात्मक निगरानी हटाएको हो। बैंकले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर  जारी गरेपछि यसको प्राथमिक पूँजी सुधार भई ९.६९ प्रतीशत पुगेको छ भने भाखा नाघेको कर्जा र ऋण भुक्तानी क्षमतामा पनि अपेक्षाभन्दा राम्रो प्रगति देखिएको छ।

वाणिज्य बैंकहरुको कुल निक्षेपमा ८.१ प्रतिशत र कर्जामा ९.० प्रतिशतको बलियो बजार हिस्सा रहेको छ। बैंकको सम्पत्तिको गुणस्तरमा सुधार आएसँगै भाखा नाघेको कर्जा २९ प्रतिशत बाट घटेर २२ प्रतिशत मा झरेको छ भने खराब कर्जा ४.३७ प्रतिशत र समायोजित खराब कर्जा ५.१७ प्रतिशत कायम भएको छ, जुन बैंकिङ क्षेत्रको औसत (६.२८%) भन्दा राम्रो हो।

त्यसैगरी, ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर र ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गरेपछि बैंकको प्राथमिक पूँजी सुधार भई ९.६९ प्रतिशत र कुल पूँजीकोष अनुपात  १२.५१ प्रतिशत पुगेको छ, जुन नियामक निकायले तोकेको मापदण्ड भन्दा बढी हो। बैंकको चल्ती र बचत खाता  को हिस्सा बढेर ५७ प्रतिशत पुगेकाले निक्षेपको लागत घटेको छ, जसले गर्दा बैंकले आफ्नो आधार दर  लाई कम र बजारमा प्रतिस्पर्धी राख्न सफल भएको छ।

साथै, कुल निक्षेपको  २९ प्रतिशत तरल सम्पत्ति र ८० प्रतिशत  कर्जा-निक्षेप अनुपात  सँगै बैंकको तरलता अवस्था सन्तोषजनक रहेको छ भने पछिल्लो राजनीतिक स्थिरताले पनि बैंकिङ क्षेत्रका लागि राम्रो वातावरण बन्ने अपेक्षा गरिएको छ।

यद्यपि, खुद ब्याज मार्जिनमा परेको दबाब र उच्च कर्जा लागतका कारण नाफाको यो सुधारलाई दिगो राख्न भने चुनौती देखिन्छ। आर्थिक शिथिलताका बीच पनि नबिलको कर्जा वृद्धिदर १२ प्रतिशत रही उद्योगको औसत ८% भन्दा बढी रहेकाले, भविष्यमा ब्याजदर बढ्दा यसले सम्पत्तिको गुणस्तरमा जोखिम निम्त्याउन सक्छ।

यसका साथै, पछिल्ला वर्षहरुमा निरन्तर बाँडिएको नगद लाभांशले बैंकको पूँजीकोषको सुरक्षा तहमा पारेको प्रभावलाई ध्यानमा राख्दै बैंकको आगामी लाभांश नीति कस्तो हुनेछ भन्ने कुरा पनि मुख्य निगरानीमा रहनेछ।

Leave Your Comment

Related News