काठमाडौं । टेरामक्स प्रविधि खरिद प्रकरणमा पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध दायर गरिएको भ्रष्टाचार मुद्दाको सुनुवाइ तेस्रो दिन पनि जारी रहेको छ।
विशेष अदालतका न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको छ। लगातार तीन दिनदेखि बहस भइरहे पनि इजलासले हालसम्म कुनै आदेश दिएको छैन।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले पूर्वमन्त्री बस्नेतले पर्याप्त अध्ययन र कानुनी आधारबिना आफ्नो प्रस्तावमा टेरामक्स प्रविधि खरिद गर्ने निर्णय गराएको आरोप लगाएको छ।
आयोगका अनुसार बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणको बजेट तथा कार्यक्रम स्वीकृत गर्ने क्रममा अन्तर्राष्ट्रिय कल मोनिटरिङ तथा भीओआईपी (VoIP) नियन्त्रणका लागि उपयुक्त प्रणाली खरिद गर्ने निर्णय गराएका थिए।
त्यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झामाथि आवश्यक कानुनी पूर्वाधार तयार नभएको अवस्थामा टेरामक्स प्रणाली कार्यान्वयन प्रक्रिया अघि बढाएको आरोप लगाइएको छ।
अख्तियारले जनाएको छ कि खरिद निर्णयअघि गरिएको अध्ययनले नागरिकको कल आदानप्रदान तथा डेटा प्रयोगको अनुगमनसम्बन्धी प्रणाली कार्यान्वयन गर्न पहिले आवश्यक कानुन निर्माण गर्नुपर्ने सुझाव दिएको थियो। तर उक्त रायविपरीत झाले २०७३ माघ २१ गते टेरामक्स खरिदको निर्णय गराएको आयोगको दाबी छ।
आयोगका अनुसार वार्षिक बजेट एकपटक मात्रै प्रस्तुत हुने व्यवस्था हुँदाहुँदै झाले एउटै विषय पटक–पटक प्राधिकरण बोर्डमा लगेको, निर्णय गराउन दबाब दिएको तथा बदनियतपूर्वक खरिद प्रक्रिया अघि बढाएको आरोपपत्रमा उल्लेख गरिएको छ।
विशेष अदालतमा जारी सुनुवाइपछि इजलासले मुद्दामा थप आदेश वा निर्णय दिने अपेक्षा गरिएको छ।


