CLI

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति फिर्ता नभएसम्म विरोध जारी रहने छ : एमालेको चेतावनी

काठमाडौं । काठमाडौं । नेकपा (एमाले) ले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको अभिव्यक्ति फिर्ता नलिएसम्म संसद्मा आफ्नो विरोध जारी रहने जनाएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले राष्ट्रिय स्वाधीनता र सीमा सुरक्षाको रक्षा गर्नु सरकारको दायित्व भए पनि प्रधानमन्त्री स्वयंले नेपालले भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको आरोप लगाए। उनले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन, संसद्को अभिलेख (रेकर्ड) बाट हटाउन र संसद्लाई स्पष्ट जवाफ दिन सरकारसँग माग गरे।

ठगुन्नाले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति विपक्षी दलहरूले लगातार आपत्ति जनाउँदै आए पनि सरकारले त्यसलाई बेवास्ता गरेको आरोप लगाए। उनले पछिल्ला दिनहरूमा सञ्चारमाध्यमका कार्यालयअगाडि सवारीसाधन तेर्स्याएर राखिएको घटनाले पञ्चायतकालको झल्को दिएको टिप्पणी गर्दै यस्ता गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताए।

बैठकमा नेकपाका सांसद रमेश मल्लले पनि प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन सरकार गम्भीर नदेखिएको आरोप लगाए। उनले गणेश नेपालीको घटनापछि राजधानीमा भएका पछिल्ला घटनाले गम्भीर चिन्ता उत्पन्न गरेको बताए।

“राज्य संरक्षित व्यक्तिले न्युरोडलगायतका स्थानमा गाडी तेर्स्याउने, सञ्चारमाध्यमका कार्यालय र दलका नेताहरूको घरअगाडि पनि त्यही शैली अपनाउने कार्य स्वीकार्य हुन सक्दैन,” उनले भने। “आतङ्कको अवस्था राज्य आफैंले सिर्जना गर्ने र त्यसपछि सामान्य जरिवानामै सीमित हुने अवस्था हुनै सक्दैन।”

एमालेले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति फिर्ता नभएसम्म संसद्मा आफ्नो विरोधलाई निरन्तरता दिने स्पष्ट पारेको छ।

Leave Your Comment

Related News