CLI

यूनाइटेड अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, ४.२९ प्रतिशत बोनस सेयर वितरण गर्ने

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा बुधबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ।

साधारणसभाले सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू छलफलपछि पारित गरेको कम्पनीले जनाएको छ।

सभाले लेखापरीक्षण समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।

त्यस्तै, हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँको ०.२२५६ प्रतिशतका दरले कर प्रयोजनका लागि ५२ लाख १० हजार ५२६ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ।

साधारणसभाले विशेष प्रस्तावमार्फत हाल कायम चुक्ता पूँजीको ४.२८५७ प्रतिशत बराबर अर्थात् ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ।

बोनस सेयर वितरणपछि कम्पनीको जारी पूँजी हालको २ अर्ब ५४ करोड १० लाख रुपैयाँबाट बढेर करिब २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। सोहीअनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावसमेत साधारणसभाबाट पारित भएको छ।

साथै, संशोधित प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने निकायबाट आवश्यक परिमार्जन, थपघट वा संशोधन गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम आवश्यक परिवर्तन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि साधारणसभाले अनुमोदन गरेको छ।

Leave Your Comment

Related News