काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज महिला उद्यमी महासंघका पदाधिकारीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विशेष छलफल गर्ने भएका छन्।
केही बेरमा सुरु हुने उक्त छलफलमा महिला उद्यमशीलताको प्रवर्द्धन, उद्योग–व्यवसायमा महिलाको सहभागिता विस्तार, नीतिगत सुधार तथा महिला उद्यमीले भोगिरहेका चुनौती र समाधानका उपायबारे विस्तृत संवाद हुने जनाइएको छ।
छलफलमा महिला उद्यमी महासंघका अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा तथा कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।
बैठकमा महासंघले महिला उद्यमशीलताको विकास, लगानीमैत्री वातावरण, वित्तीय पहुँच, सीप विकास तथा उद्योग क्षेत्रमा महिलाको सहभागिता बढाउन आवश्यक नीतिगत सुधारका विषयमा आफ्ना सुझाव प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। प्रधानमन्त्री शाहले पनि सरकारको तर्फबाट महिला उद्यमीलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रमबारे धारणा राख्ने कार्यक्रम रहेको छ।


