काठमाडौं । भारतको पानीजहाज विभाग ले अर्को आदेश नभएसम्मका लागि “हर्मोज जलडमरू भएर यात्रा गर्ने जहाजहरुमा भारतीय नाविकहरू परिचालन नगर्न” पानीजहाज मालिकहरू, सञ्चालकहरू र कर्मचारी भर्ना गर्ने एजेन्सीहरूलाई निर्देशन दिएको छ।
यसै हप्ता हर्मोज जलडमरू आसपासका क्षेत्रमा इरानले गरेका दुईवटा आक्रमणमा दुई जना भारतीय नाविकको मृत्यु भएपछि यो आदेश जारी गरिएको हो।
विभागले जारी गरेको आदेशमा भनिएको छ, “फारसको खाडी क्षेत्रमा बढ्दो सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै… यस क्षेत्रमा चल्ने जहाजहरूमा कार्यरत भारतीय नाविकहरूको सुरक्षा र हितका लागि थप सतर्कता अपनाउनु आवश्यक देखिएकाले यो कदम चालिएको हो।”
गत फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलको युद्ध सुरु भएयता हर्मोज जलडमरू आसपास भएका आक्रमणमा कम्तीमा १४ जना नाविकको मृत्यु भइसकेको संयुक्त राष्ट्र संघ (UN) ले गत महिना बताएको थियो। मृत्यु हुनेहरूमा जुन ९ मा ओमानको तट नजिकै ‘सेत्तेबेलो’ नामक तेल ट्याङ्करमा अमेरिकाले गरेको आक्रमणमा ज्यान गुमाएका चालक दलका तीन भारतीय सदस्य समेत रहेका छन्।


