CLI

पूर्वअर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधन

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नागरिक अधिकारका अग्रणी अभियन्ता डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन भएको छ। क्यान्सरसँग लामो समयदेखि संघर्षरत पाण्डेको शुक्रबार साँझ ७ः४० बजे काठमाडौंको विशालनगरस्थित निवासमा निधन भएको परिवारले जनाएको छ।

स्वर्गीय पाण्डेको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बिहीबार ह्याम्स अस्पताल र पाटन अस्पतालमा उपचार गराइएको थियो। उपचारकै क्रममा शुक्रबार साँझ उनको निधन भएको हो।

पञ्चायतविरोधी जनआन्दोलनको सफलतापछि २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि गठन भएको कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारमा डा. पाण्डेले २०४७ देखि २०४८ सालसम्म अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

अर्थमन्त्रीको कार्यकालपछि पनि उनले सुशासन, लोकतन्त्र, विकास, भ्रष्टाचार नियन्त्रण तथा उत्तरदायी राज्य व्यवस्थामार्फत नागरिक अधिकारको संरक्षण हुनुपर्ने मान्यताका साथ सार्वजनिक जीवनमा सक्रिय भूमिका निर्वाह गरेका थिए।

शिक्षाका क्षेत्रमा पनि उनी उच्च योग्यताप्राप्त व्यक्तित्व थिए। उनले त्रिचन्द्र क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका थिए भने भारतको इलाहाबाद विश्वविद्यालयबाट स्नातकोत्तर र अमेरिकाको पिट्सबर्ग विश्वविद्यालयबाट सार्वजनिक तथा अन्तर्राष्ट्रिय मामिलामा विद्यावारिधि (पीएचडी) गरेका थिए।

डा. पाण्डे नेपाल सरकारका पूर्वसचिव पनि हुन्। उनले सन् १९७८ देखि १९८० सम्म अर्थसचिवका रूपमा काम गरेका थिए। तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापासँग नीतिगत विवाद भएपछि उनले उक्त पदबाट राजीनामा दिएका थिए।

डा. पाण्डेको निधनसँगै नेपालले अर्थनीति, सुशासन र नागरिक अधिकारका क्षेत्रमा योगदान पुर्‍याएका एक अनुभवी तथा सिद्धान्तनिष्ठ व्यक्तित्व गुमाएको छ।

Leave Your Comment

Related News