काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी युद्धविराम सम्झौता समाप्त भएको घोषणा गरेपछि संयुक्त राज्य अमेरिकाले लगातार सातौँ रात पनि इरानका विभिन्न सैन्य लक्ष्यमा हवाई आक्रमण गरेको छ। अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम) ले निगरानी केन्द्र, सैन्य रसद पूर्वाधार, भूमिगत हतियार भण्डारण स्थल तथा समुद्री सैन्य क्षमतामाथि लक्षित आक्रमण गरिएको जनाएको छ।
स्थानीय समयअनुसार राति ९:३० बजे सम्पन्न भएको कारबाहीमा लडाकु विमान, ड्रोन, युद्धपोत तथा अन्य अत्याधुनिक सैन्य साधन प्रयोग गरिएको थियो। इरानी सरकारी सञ्चारमाध्यमले भने याज्द सहर, किश्म (केश्म) टापु र होर्मुज जलडमरूमध्य नजिकको बन्दर अब्बास क्षेत्रमा शक्तिशाली विस्फोट भएको जनाएको छ।
अमेरिकी आक्रमणसँगै इरानले पनि अमेरिकाका क्षेत्रीय सहयोगी मुलुकहरूलाई निशाना बनाएको दाबी गरेको छ। कुवेतको विद्युत् तथा जल मन्त्रालयका अनुसार इरानी आक्रमणबाट अर्को एक विद्युत् तथा पानी प्रशोधन केन्द्रमा आगलागी भएको छ। आक्रमणका कारण केन्द्रका केही विद्युत् उत्पादन इकाइ बन्द गरिएका छन्।
यसैबीच, जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका इरानका १० वटा मिसाइल खसालेको जनाएको छ। बहराइनले पनि आफ्नो हवाई प्रतिरक्षा प्रणालीले इरानी आक्रमण विफल पारेको दाबी गरेको छ। दुवै देशले मानवीय वा भौतिक क्षति नभएको बताएका छन्।
युद्धविराम टुटेपछि बढ्यो द्वन्द्व
अमेरिका र इरानबीच जुन महिनामा युद्ध अन्त्य गर्ने उद्देश्यले युद्धविराम भएको थियो। तर वार्तामा कुनै उल्लेखनीय प्रगति हुन नसकेपछि राष्ट्रपति ट्रम्पले गत साता युद्धविराम समाप्त भएको घोषणा गरेका थिए। त्यसयता अमेरिकाले इरानमाथि हवाई आक्रमण तीव्र बनाएको छ भने इरानी बन्दरगाहमाथि पुनः नौसैनिक नाकाबन्दी पनि लगाएको छ।
यसअघि इरानले होर्मुज जलडमरूमध्य हुँदै आवतजावत गर्ने जहाजहरूले तेहरानको अनुमति लिनुपर्ने चेतावनी दिएको थियो। त्यसपछि तेल ट्याङ्करमाथि भएका आक्रमणलाई लिएर अमेरिका र इरानबीच तनाव झन् बढेको हो।
इरानले अहिले होर्मुज जलडमरूमध्य जहाज आवागमनका लागि बन्द भएको घोषणा गरेको छ। यसका कारण विश्व ऊर्जा आपूर्तिमै असर पर्ने चिन्ता बढेको छ। विश्वको करिब २० प्रतिशत कच्चा तेल र ठूलो परिमाणमा तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) यही मार्गबाट ढुवानी हुने भएकाले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का प्रमुख फातिह बिरोलले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन्।
तेल ट्याङ्कर विस्फोटको दाबी अस्वीकार
इरानको फर्स समाचार एजेन्सीले होर्मुज जलडमरूमध्यको दक्षिणी भागमा दुईवटा तेल ट्याङ्कर बारुदी सुरुङमा परेर विस्फोट भएको दाबी गरेको थियो। तर सेन्टकमले उक्त दाबीलाई अस्वीकार गर्दै त्यसलाई “आईआरजीसीका अन्य धेरै दाबीझैँ असत्य” भएको प्रतिक्रिया दिएको छ।
अमेरिकी सैन्य अड्डामा पनि इरानी आक्रमणको दाबी
इरानका सशस्त्र बलले शुक्रबार कुवेत, बहराइन, जोर्डन र पहिलो पटक सिरियास्थित अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन्। अमेरिकाले भने उक्त दाबी अस्वीकार गरेको छ।
गत साताभरि जोर्डनस्थित दुई अमेरिकी सैन्य अड्डामाथि भएका इरानी आक्रमणमा केही अमेरिकी सैनिक घाइते भएका छन्।
यसैबीच, अमेरिकाले इरानले नागरिक पूर्वाधारमाथि आक्रमण गरेको आरोप पनि अस्वीकार गरेको छ। तेहरानले पुल, रेल स्टेशन र विमानस्थलजस्ता संरचनामा अमेरिकी आक्रमण भएको दाबी गरेको थियो।
पुलमा क्षति भएको पुष्टि
सार्वजनिक भिडियो र तस्बिरहरूको विश्लेषणपछि गारिभेह पुलमा क्षति पुगेको पुष्टि गरेका छन्। तस्बिरहरूमा पुलको एक भाग पूर्ण रूपमा भत्किएको देखिएको छ। होर्मोजगान प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार उक्त आक्रमणमा कम्तीमा सात जनाको मृत्यु भएको छ।
ह्वाइट हाउसका एक प्रवक्ताले भने अमेरिकी कारबाही केवल सैन्य लक्ष्यमा केन्द्रित रहेको दाबी गरेका छन्। उनका अनुसार सैन्य रसद पूर्वाधार तथा सैन्य संरचनाबाहेक अन्य कुनै नागरिक संरचनालाई जानाजानी निशाना बनाइएको छैन।
अमेरिकाले चाबहार बन्दरगाहस्थित एउटा नियन्त्रण टावर पनि ध्वस्त पारेको जनाएको छ। अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले उक्त टावर ध्वस्त पारिएको तस्बिर सार्वजनिक गर्दै सेन्टकमका अनुसार सो टावर इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को समुद्री निगरानी सञ्जालको महत्वपूर्ण हिस्सा रहेको बताएका छन्।
अन्तराष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा


