काठमाडौं । आज फिफा विश्वकप २०२६ को फाइनल खेल अमेरिकाको मेटलाइफ स्टेडियममा हुँदैछ। नेपाली समय अनुसार यो खेल सोमबार बिहान पौने १ बजै सुरु हुनेछ, जहाँ साविक विजेता अर्जेन्टिना र स्पेन उपाधिका लागि भिड्दै छन्।
यो फाइनल खेल फुटबलका दिग्गज खेलाडी लियोनेल मेसी र नयाँ युवा स्टार लामिन यामालको भिडन्तका कारण निकै विशेष बनेको छ। यी दुईबीच एउटा अनौठो संयोग छ,मेसीले सन् २००६ मा आफ्नो जीवनको पहिलो विश्वकप खेल्दा १९ नम्बरको जर्सी लगाएका थिए, र यामालले पनि आफ्नो पहिलो विश्वकपमा त्यही १९ नम्बरकै जर्सी लगाएका छन्। यी दुवै खेलाडी चर्चित फुटबल क्लब बार्सिलोनाका हुन्।
मेसीले बार्सिलोनाको एकेडेमी ‘ला मासिया’ बाट फुटबल सिकेर विश्वकै महान खेलाडी बनेका हुन् भने यामाल पनि त्यही बार्सिलोनाको एकेडेमीबाट निस्किएका नयाँ स्टार हुन्। क्लब फुटबलको एउटै जगबाट हुर्किएका यी दुईको कथा निकै रोचक छ।
बार्सिलोनामा दुवैको तथ्याङ्क (Stats) हेर्दा मेसीले सिनियर टोलीका लागि कुल ७७८ खेल खेल्दै ६७२ गोल र ३०३ असिस्ट गरेर क्लब इतिहासकै सबैभन्दा सफल खेलाडी बनेका छन्। अर्कोतर्फ, भर्खरै मात्र १९ वर्ष पुगेका युवा स्टार लामिन यामालले बार्सिलोनाको सिनियर टोलीका लागि अहिलेसम्म झन्डै १०० खेल खेल्दै १५ गोल र २२ भन्दा बढी असिस्ट गरिसकेका छन् र उनी अहिले क्लबका मुख्य खेलाडी हुन्।
सन् २००७ मा बार्सिलोना र युनिसेफको एउटा विज्ञापनका लागि खिचेको तस्बिरमा २० वर्षका मेसीले ६ महिनाका बच्चा यामाललाई बाथटबमा नुहाउँदै गरेको देखिन्छ। हिजो मेसीको काखमा रहेका तिनै बालक आज विश्वकपको ट्रफीका लागि मेसीकै विरुद्ध मैदानमा उत्रिँदै छन्।

फाइनलसम्म पुग्न अर्जेन्टिनाले नकआउट चरणमा केप भर्डे, इजिप्ट, स्विट्जरल्याण्ड र सेमिफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराउँदै फाइनलको यात्रा तय गर्यो। अर्कोतर्फ, पूरे प्रतियोगितामा जम्मा १ गोल मात्र खाएको स्पेनले पोर्चुगल, बेल्जियम र सेमिफाइनलमा फ्रान्सलाई २-० ले हराउँदै अपराजित रुपमा फाइनलमा ठाउँ बनाएको हो। आजको खेल मेसीका लागि आफ्नो खेल जीवनको सुखद अन्त्य गर्ने र यामालका लागि नयाँ इतिहास रच्ने ठूलो अवसर हो।



