RE
Global College

साउन मसान्तभित्र सम्पर्कमा आउन दूध उत्पादक सहकारी र निजी फार्मलाई डीडीसीको आग्रह

काठमाडौं । दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८३/८४ देखि दूध संकलन प्रणालीलाई थप व्यवस्थित, प्रविधिमैत्री, दिगो तथा अनुमानयोग्य बनाउने तयारीस्वरूप संस्थानसँग निरन्तर कारोबार गर्न इच्छुक दुग्ध उत्पादक सहकारी संस्था तथा निजी फार्मलाई  साउन मसान्तभित्र सम्पर्कमा आउन आग्रह गरेको छ।

संस्थानले आइतबार जारी गरेको सूचनामा विगत ५७ वर्षदेखि देशभरका दुग्ध उत्पादक सहकारी संस्था, निजी फार्म तथा कृषकबाट उत्पादित दूध संकलन गर्दै आएको उल्लेख गर्दै कठिन परिस्थितिमा समेत निरन्तर रूपमा दूध उपलब्ध गराउने सबै उत्पादकप्रति आभार व्यक्त गरेको छ। संस्थानले आगामी दिनमा पनि सहकारी, निजी फार्म र डीडीसीबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै दुग्ध क्षेत्रको विकासमा निरन्तर योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

डीडीसीका अनुसार नयाँ आर्थिक वर्षदेखि दूध संकलन प्रणालीलाई डिजिटल तथा व्यवस्थित ढंगले सञ्चालन गर्ने लक्ष्यअनुसार संस्थानसँग नियमित दूध कारोबार गर्न चाहने सबै सहकारी संस्था तथा निजी फार्मले साउन मसान्तभित्र आफूलाई पायक पर्ने डीडीसीका आयोजना, चिस्यान केन्द्र वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।

संस्थानले तोकिएको समयसीमाभित्र सम्पर्कमा नआउने सहकारी संस्था तथा निजी फार्मसँग त्यसपछि दूध खरिद–बिक्रीको कारोबार गर्न आफू बाध्य नहुने स्पष्ट पारेको छ।

डीडीसीले यस सम्बन्धमा आवश्यक जानकारीका लागि केन्द्रीय कार्यालय, लैनचौरका सम्पर्क व्यक्ति नरेशकुमार जोशीसँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ।

NECO

Leave Your Comment

Related News