CLI

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ रुपैयाँ बराबरको योगदान रकम जम्मा भएको छ । सूचीकृत रोजगारदाता र सूचीकृत योगदानकर्ताले उक्त रकम जम्मा गरेका हुन् ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म उक्त योगदान रकम जम्मा भएको कोषले जनाएको छ । कोषका अनुसार सूचीकृत रोजगारदाताको सङ्ख्या २३ हजार ४९० पुगेको छ भने सूचीकृत योगदानकर्ताको सङ्ख्या ३० लाख ४३ हजार २०० पुगेको छ । कोषले २१ अर्ब २७ करोड एक लाख २० हजार २५२ रुपैयाँ बराबर दावी भुक्तानी गरेको छ ।

यस्तैगरी औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दावीतर्फ तीन अर्ब ५२ करोड पाँच लाख ४७ हजार ४६२ रुपैयाँ उपलब्ध गराएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा दाबीतर्फ ३० करोड ४६ लाख छ हजार ५१४ रुपैयाँ, आश्रित परिवार सुरक्षा दावीतर्फ ३८ करोड चार लाख २५ हजार २१६रुपैयाँ र अवकाश दावीतर्फ रु १७ अर्ब छ करोड ४५ लाख ४१ हजार ६१ रुपैयाँ बराबर रकम उपलब्ध गराएको छ । पछिल्लो पटक वैदेशिक रोजगारीमा जाने श्रमिकलाई समेत कोषमा समेटिएपछि योगदान रकम वृद्धि भएको छ ।

पेन्सन, औषधि उपचार तथा अन्य सामाजिक सुरक्षाका कार्यक्रमसमेत अगाडि बढाइएकाले कोषप्रति आममानिसको चासो बढ्दै गएको पाइएको छ । कोषले विभिन्न उत्पादनमूलक क्षेत्रमा लगानी सुरु गरेको छ । यसबाट बहुआयामिक लाभ हासिल हुने विश्वास लिइएको छ ।

Leave Your Comment

Related News