काठमाडौं । अमेरिका र इरानबिचको युद्ध झन् चर्किएको छ। युद्धविरामसम्बन्धी समझदारी भएको करिब ३० दिनपछि पुनः सुरु भएको द्वन्द्वमा अमेरिकाले लगातार १०औँ रात इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ। इरानको बन्दर अब्बास, सिरिक, केश्म टापु, चाबहार र कोनारक क्षेत्रमा विस्फोट भएका छन्। मंगलबार बिहान इरानको दक्षिणपश्चिमी शहर शिराजमा पनि शक्तिशाली विस्फोटको आवाज सुनिएको इरानको सरकारी प्रसारक आईआरआईबीले जनाएको छ।
यता, इस्फहान प्रान्तका अधिकारीहरूले इस्फहान क्षेत्रमा कुनै पनि आक्रमण वा विस्फोट नभएको बताएका छन्। बुसेहर प्रान्तका गभर्नरले भने सुनिएका विस्फोटका आवाज वायु रक्षा प्रणाली सक्रिय हुँदा आएको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अमेरिकी सैनिकको मृत्युको धेरै गुणा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। पछिल्लो एक सातामा कम्तीमा तीन अमेरिकी सैनिक मारिएपछि अमेरिका थप आक्रामक बनेको हो।
ह्वाइट हाउसले जारी गरेको वक्तव्यअनुसार राष्ट्रपतिले आदेश नदिएसम्म इरानमाथिका सैन्य आक्रमण जारी रहनेछन्। यद्यपि दुवै देशबीच कूटनीतिक संवाद पनि निरन्तर भइरहेको अमेरिकी प्रशासनले जनाएको छ। यसैबिच, लेबनानको राष्ट्रिय समाचार एजेन्सीका अनुसार इजरायली सेनाले दक्षिणी लेबनानको कफार तेब्नित क्षेत्रमा ठूलो परिमाणमा संरचना ध्वस्त पारेको छ। साथै नाबाटिये अल–फाउका क्षेत्रमा तोपबाट गोलाबारी पनि गरिएको बताइएको छ। युद्ध थप चर्किँदै जाँदा मध्यपूर्वको सुरक्षा अवस्था झन् जटिल बन्दै गएको छ। अन्तर्राष्ट्रिय समुदायले संयमता अपनाउन र कूटनीतिक समाधान खोज्न दुवै पक्षसँग आग्रह गरिरहेको छ।


