नयाँ दिल्ली । भारतको कक्रोच जनता पार्टी (सीजेपी) को ‘चलो संसद’ प्रदर्शनपछि आन्दोलन अझै जारी रहेको छ। प्रदर्शनका क्रममा घाइते भएका विद्यार्थीलाई भेट्न पार्टीका संस्थापक अभिजित दिप्के मंगलबार राम मनोहर लोहिया अस्पताल पुगेका छन्।
सामाजिक सञ्जाल एक्स (X) मा दिप्केले प्रदर्शनका क्रममा प्रहरीको ‘निर्मम लाठीचार्ज’बाट घाइते भएकी एक युवतीको अवस्था गम्भीर रहेको बताएका छन्। उनले सरकारसँग वार्ताको प्रयास भइरहेका बेला सीजेपीका सदस्यहरूलाई नजरबन्द गरिएको र आफूहरूलाई फसाउने प्रयास भएको आरोप पनि लगाए।
सोमबार संसदतर्फ गरिएको ‘चलो संसद’ मार्चका क्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो। सीजेपीले सुरक्षाकर्मीमाथि अत्यधिक बल प्रयोग गरेको आरोप लगाउँदै दिप्के, सामाजिक अभियन्ता सोनम वाङ्चुककी पत्नी गीताञ्जली जे. आङ्मो तथा अभिनेता शबाना आजमी र प्रकाश राज सवार ट्रकमाथि समेत प्रहरीबाट आक्रमण भएको दाबी गरेको छ।
सीजेपीका अनुसार करिब ५० हजार प्रदर्शनकारी केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै सडकमा उत्रिएका थिए।
प्रदर्शन सुरुमा शान्तिपूर्ण रूपमा अघि बढेको थियो। प्रदर्शनकारीहरूले प्रहरीलाई फूलसमेत दिएका थिए। तर दिउँसोतिर प्रहरीले जन्तर–मन्तरस्थित मुख्य प्रदर्शन मञ्च हटाएको र प्रदर्शनकारीलाई त्यहाँबाट हटाउन थालेपछि तनाव उत्पन्न भएको बताइएको छ।
प्रदर्शनस्थलमा भीड बढ्दै गएपछि केही विद्यार्थीहरूले फलामे बार (ब्यारिकेड) नाघेर शान्तिपूर्ण मार्चलाई निरन्तरता दिन खोजेका थिए। त्यसपछि सुरक्षाकर्मीले लाठीचार्ज सुरु गरेका थिए, जुन दिनभर जारी रहेको बताइएको छ। घटनामा धेरै प्रदर्शनकारी घाइते भएका छन् भने केहीको टाउकोमा गम्भीर चोट लागेको देखिएको छ।
यता, दिल्ली प्रहरीले भने प्रदर्शनकारीले ‘अराजक, आक्रामक र हिंसात्मक व्यवहार’ देखाएको आरोप लगाएको छ। प्रहरीले प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि आक्रमण गरेको, सरकारी सवारीसाधन र सार्वजनिक सम्पत्तिमा क्षति पुर्याएको दाबी गरेको छ।
प्रहरीका अनुसार सोमबारको घटनामा ११८ भन्दा बढी प्रहरी कर्मचारी घाइते भएका छन्। साथै, प्रदर्शनकारीहरूले निषेधाज्ञाको उल्लंघन गर्दै बारम्बार हट्न दिइएको निर्देशन नमानेको प्रहरीको भनाइ छ।


