CLI

 तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस लिएको तथा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार अधिकारीले प्राधिकरणअन्तर्गत सञ्चालन भएका ठेक्काहरूको स्वीकृति, रेखदेख, भुक्तानी तथा सहजीकरणमा आफ्नो पदको दुरुपयोग गर्दै ठेकेदार कम्पनीलाई लाभ पुर्‍याएको बदलामा १ करोड ७१ लाख रुपैयाँ घुस/रिसवत लिएको अनुसन्धानबाट पुष्टि भएको छ।

अनुसन्धानका क्रममा अधिकारीले उक्त रकम वैधानिक देखाउने उद्देश्यले श्रीमतीको नाममा ललितपुर महानगरपालिका–५ स्थित कित्ता नं. २२४ को १३ आना जग्गा खरिद गरेको पाइएको आयोगले जनाएको छ। जग्गाको वास्तविक खरिद रकम लुकाउन राजीनामा लिखतमा ९१ लाख रुपैयाँ मात्र उल्लेख गरिएको तथा बाँकी रकमको स्रोत लुकाउन विभिन्न बैंक खातामार्फत कारोबार गरिएको आरोप छ।

आयोगका अनुसार घुसबाट प्राप्त रकम कम्पनी तथा कम्पनीका सञ्चालकहरूको खाताबाट जग्गा विक्रेतालाई भुक्तानी गराई भ्रष्टाचारबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, रूपान्तरण गर्ने तथा वैधानिक देखाउने प्रयास गरिएको थियो। यसरी अधिकारीले घुसबाट आर्जित रकमलाई वैध देखाउने उद्देश्यले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरसमेत गरेको अनुसन्धानबाट पुष्टि भएको आयोगको निष्कर्ष छ।

यस प्रकरणमा गायत्री निर्माण सेवाका प्रमुख प्रेम प्रकाश ढकाल सहित अन्य संलग्न व्यक्तिहरूले पनि घुस उपलब्ध गराएको आरोप लगाइएको छ।

अख्तियारले प्रदीप अधिकारी तथा अन्य प्रतिवादीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत घुस/रिसवतसम्बन्धी कसुर तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा सजायको माग गर्दै विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

Leave Your Comment

Related News