CLI

विद्युत् तार छोएर हात गुमाएका बालकलाई प्राधिकरणको सहयोग, १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति दिने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) मा ११ केभी विद्युत् लाइनको तार छोएर गम्भीर घाइते भई दुवै हात गुमाएका एक बालकलाई उपचार खर्चसहित १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको छ।

प्राधिकरण सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति तथा कुरुवा खर्चसमेत समावेश गरी उक्त रकम स्वीकृत गरेको हो। स्वीकृत रकम सम्बन्धित वितरण केन्द्रमार्फत पीडित बालकको परिवारलाई उपलब्ध गराइने प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार नवलपरासी (सुस्ता पूर्व) को त्रिवेणी गाउँपालिका–२ घुसेनीस्थित आमा समूहको भवनको छतमा खेलिरहेका बेला बालकले नजिकै रहेको ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएका कारण गम्भीर दुर्घटना भएको थियो। दुर्घटनामा उनी दुवै हात गुमाउने अवस्थामा पुगेका थिए।

नेपाल विद्युत् प्राधिकरणले दुर्घटना क्षतिपूर्ति विनियमावली, २०६७ अनुसार विद्युतीय दुर्घटनाका पीडितलाई क्षतिपूर्ति तथा औषधोपचार खर्च उपलब्ध गराउँदै आएको छ। विनियमावलीअनुसार २ लाख रुपैयाँसम्मको क्षतिपूर्ति विभागीय प्रमुख, २ लाखदेखि ५ लाख रुपैयाँसम्म सम्बन्धित उपकार्यकारी निर्देशक, ५ लाखदेखि १० लाख रुपैयाँसम्म मुख्य प्रशासकीय अधिकृत र १० लाख रुपैयाँभन्दा बढीको रकम सञ्चालक समितिले स्वीकृत गर्ने व्यवस्था रहेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले कानुनी व्यवस्था र विगतका नजीरका आधारमा पीडित बालकको परिवारलाई सहयोग गरिएको बताउनुभयो। उहाँले कुनै पनि रकमले पीडित परिवारको पीडा कम गर्न नसक्ने भए पनि जीवनयापनमा केही राहत पुग्ने अपेक्षा गरिएको उल्लेख गरे ।

मन्त्री श्रेष्ठले पछिल्ला वर्षहरूमा विद्युतीय दुर्घटनाका घटना बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना न्यूनीकरणका लागि प्राधिकरण र नागरिक समाज दुवैले थप सचेत हुनुपर्ने आवश्यकता औँल्याए । उनले प्राधिकरणलाई आफ्ना विद्युत् संरचनाको नियमित मर्मत, जोखिमयुक्त क्षेत्रको निगरानी, सुरक्षा सतर्कता तथा जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

विद्युतीय दुर्घटनाबाट हुने जनधनको क्षति रोक्न नागरिकको सचेतना पनि उत्तिकै महत्वपूर्ण रहेको मन्त्री श्रेष्ठको भनाइ छ।

Leave Your Comment

Related News