काठमाडौं । सरकारले विद्युत् नियमन आयोगको अध्यक्षमा डा. रामप्रसाद धिताललाई पुनः नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले खुला प्रतिस्पर्धामार्फत धिताललाई आयोगको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।
नियुक्तिबारे जानकारी दिँदै धितालले सरकारले निर्णय गरेको सूचना आफूले भर्खरै प्राप्त गरेको बताए। उनले बिहीबार पदभार ग्रहण गर्ने तयारी रहेको जानकारी दिँदै नियामक निकायको भूमिकालाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने दिशामा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
“आयोगको जिम्मेवारीलाई अझ प्रभावकारी बनाउँदै विद्युत् क्षेत्रको सुशासन, निष्पक्ष नियमन र उपभोक्ताको हित संरक्षणमा केन्द्रित भएर काम गर्नेछु,” उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने।
डा. धिताल यसअघि पनि २०८१ असार ७ गते खुला प्रतिस्पर्धाबाट विद्युत् नियमन आयोगको अध्यक्ष नियुक्त भएका थिए। तर, सरकारले ल्याएको अध्यादेशका कारण उनी पदमुक्त भएका थिए। त्यसपछि पुनः खुला प्रतिस्पर्धामार्फत उनी आयोगको नेतृत्वमा फर्किएका हुन्।
ऊर्जा क्षेत्रमा करिब २५ वर्षभन्दा बढी अनुभव रहेका धितालले काठमाडौँ विश्वविद्यालयमा अतिथि प्राध्यापक तथा संघीय संसद्को पूर्वाधार विकास समितिमा ऊर्जा सल्लाहकारका रूपमा समेत योगदान दिएका छन्।
उनको पुनर्नियुक्तिसँगै विद्युत् बजारको नियमन, अन्तर्देशीय विद्युत् व्यापारको व्यवस्थापन, ऊर्जा क्षेत्रको सुशासन प्रवर्द्धन तथा नियामक प्रणालीलाई थप सुदृढ बनाउने दिशामा उल्लेखनीय काम हुने अपेक्षा गरिएको छ।


