CLI

७ लाख ५० हजार घुससहित सर्लाही डिभिजन प्रमुख र अधिकृत पक्राउ

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई रु. ७ लाख ५० हजार घुससहित रंगेहात पक्राउ गरेको छ।

आयोगका अनुसार बोरिङ र मोटर जडानको काम सम्पन्न भएपछि भुक्तानी उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना तथा उजुरीका आधारमा बर्दिबासबाट खटिएको टोलीले साउन ८ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।

अख्तियारले डिभिजन प्रमुख ढकाल र अधिकृत चौधरीलाई सेवाग्राहीबाट रु. ७ लाख ५० हजार घुस लिइसकेको अवस्थामा बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको सरकारी क्वार्टरबाट पक्राउ गरेको जनाएको छ।

खानतलासीका क्रममा उनीहरूको साथबाट घुसबापतको रु. ७ लाख ५० हजार नगदका साथै स्रोत नखुलेको थप रु. ७१ हजार ११५ र तीन थान मोबाइल फोन बरामद गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

आयोगले दुवै जनामाथि भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जनाएको छ।

Leave Your Comment

Related News