काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि, जल, जङ्गल र जमिनको संरक्षणलाई उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् ।
धनुषाको धनुषाधाम नगरपालिकास्थित सबडिभिजन वन कार्यालयमा आयोजित छलफल तथा वृक्षरोपण कार्यक्रममा उनले वन र पर्यावरणको संरक्षणबिना मानव अस्तित्व नै सङ्टमा पर्ने उल्लेख गर्दै प्राकृतिक स्रोतको संरक्षणमा सबै पक्ष जिम्मेवार हुनुपर्ने बताइन् ।
मन्त्री चौधरीले सडक पूर्वाधारको विकासले मात्र देश समृद्ध नबन्ने उल्लेख गर्दै कृषि, वन, जल, जमिन र वातावरण संरक्षणसँगै समग्र विकासमा जोड दिनुपर्ने धारणा राखिन् । देश निर्माणका लागि सबै क्षेत्रको सन्तुलित विकास आवश्यक रहेको उनको भनाइ थियो ।
बाल्यकालदेखि ‘हरियो वन नेपालको धन’ र ‘नेपाल कृषि प्रधान देश हो’ भन्ने सुन्दै आए पनि कृषि र वन क्षेत्रले अपेक्षित प्राथमिकता नपाएको उल्लेख गर्दै उनले माटो सुधार कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै प्राकृतिक स्रोत संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताइन् ।
प्रत्येक प्रदेशमा एक–एक वटा प्राणी उद्यान स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै मन्त्री चौधरीले सोही योजनाअनुसार मधेस प्रदेशमा पनि प्राणी उद्यान निर्माण गरिने बताइन् ।
उनले सङ्घ र प्रदेश सरकार एउटै राज्य संरचनाका अङ्ग भएकाले आपसी समन्वय र सहकार्यबाट अघि बढ्नुपर्नेमा जोड दिँदै मधेस प्रदेशमा कृषि, वन र वातावरण संरक्षणका लागि सबैपक्ष मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
कार्यक्रममा मधेस प्रदेशका वन तथा वातावरणमन्त्री शङ्करप्रसाद चौधरीले वनजङ्ल संरक्षणबिना मानव जीवन नै सङ्कटमा पर्ने उल्लेख गर्दै संरक्षण अभियानमा सबैलाई सहभागी हुन आग्रह गरे ।
त्यस अवसरमा मन्त्री गीता चौधरीले सबडिभिजन वन कार्यालय परिसरमा कल्पवृक्ष तथा धनुषाधाम वनस्पति उद्यानस्थित नक्षत्र बाटिकामा राशिअनुसारको बिरुवा रोपेर वृक्षरोपण कार्यक्रमको शुभारम्भ गरेकी थिइन् ।


