काठमाडौं। पूर्वाधार सचिव गोपालप्रसाद सिग्देलले नागढुङ्गा सुरुङमार्ग केवल पहाडभित्रको सुरुङ नभई समयलाई जोड्ने ऐतिहासिक पूर्वाधार भएको बताएका छन्। सोमबार आयोजित नागढुङ्गा सुरुङमार्ग उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सुरुङमार्गले यात्राको समय घटाएर सुरक्षित र सहज आवागमन सुनिश्चित गरेको बताए।
उनका अनुसार सिस्नेखोला–बलम्बु खण्डको यात्रा समय आधा घण्टाभन्दा बढी लाग्ने अवस्थाबाट घटेर केही मिनेटमा सीमित भएको छ। साथै, घुम्ती सडक र पहिरोको उच्च जोखिम भएका भित्ताहरू पार गर्नुपर्ने बाध्यता पनि अन्त्य भएको उनले उल्लेख गरे।
सचिव सिग्देलले नागढुङ्गा सुरुङमार्ग काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वार तथा राष्ट्रिय राजमार्ग सञ्जालको सबैभन्दा व्यस्त र जोखिमपूर्ण खण्डको दीर्घकालीन समाधानका रूपमा निर्माण भएको बताए। उनले सुरुङमार्ग नेपाल–जापानबीचको मित्रता र सहकार्यको पछिल्लो तथा सबैभन्दा सशक्त प्रतीकसमेत भएको धारणा राखे।
नागढुङ्गा सुरुङमार्गको औपचारिक उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालका लागि जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)का अध्यक्ष तानाका अकिहिको तथा सुरुङ निर्माणमा संलग्न ६३ वर्षीया पूर्ण जोशीलगायतले संयुक्त रूपमा गरेका थिए।
पूर्वाधार इतिहासमा नयाँ अध्याय : जापानी राजदूत
उद्घाटन समारोहमा नेपालका लागि जापानी राजदूत मायदा तोरुले नागढुङ्गा सुरुङमार्ग नेपालको पूर्वाधार विकास इतिहासमा कोशेढुङ्गा भएको बताए।
उनले यस वर्ष नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव परेकाले सुरुङमार्गको उद्घाटन अझ विशेष महत्त्वको भएको उल्लेख गरे।
राजदूत तोरुका अनुसार सुरुङमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को करिब १५ अर्ब जापानी येन (करिब १५.२ अर्ब नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। उनले यसलाई नेपाल र जापानबीचको दीर्घकालीन साझेदारी र विश्वासको जीवन्त उदाहरणको रूपमा व्याख्या गरे।
उनले नागढुङ्गा सुरुङमार्गले काठमाडौंलाई पोखरा तथा पश्चिम नेपालसँग थप प्रभावकारी रूपमा जोड्ने, हिमाली तथा पहाडी भूभागका कारण हुने आवागमनका कठिनाइ कम गर्ने तथा स्थानीय समुदायको जीवनस्तर सुधारसँगै आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
राजदूत तोरुले सुरुङमार्ग सञ्चालनसँगै यसको दिगो मर्मतसम्भार र व्यवस्थापन नेपाल सरकारको महत्वपूर्ण जिम्मेवारी हुने उल्लेख गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी वर्षहरूमा आफ्नै प्राविधिक क्षमता विकास गरी सुरुङ सञ्चालन र संरक्षणलाई दीर्घकालीन रूपमा सुनिश्चित गर्नुपर्ने बताए।
उनले नागढुङ्गा सुरुङमार्गले नेपालको आर्थिक विकासका लागि बलियो आधार तयार पार्ने र देशको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।


