CLI

सुनसरी घटनामा सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई मानव अधिकार आयोगको अपिल

काठमाडौं। राष्ट्रिय मानव अधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप तथा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको मानव अधिकारको दृष्टिकोणबाट सूक्ष्म अनुसन्धान सुरु गरेको छ। आयोगले सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई संयम अपनाउन र संवादमार्फत विवाद समाधान गर्न पनि अपिल गरेको छ।

आयोगका प्रवक्ता तथा सहसचिव डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिअनुसार आयोगको कोशी प्रदेश कार्यालय, विराटनगरले घटनाको प्रारम्भिक अनुगमन गरिरहेको छ। यस क्रममा प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयवासीसँग घटनाबारे जानकारी संकलन भइरहेको आयोगले जनाएको छ।

प्रारम्भिक अनुगमनका क्रममा पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद सुरु भएको र बोलबम यात्राका क्रममा डिजे बजाउने विषयले विवाद चर्किँदा दुई पक्षबीच तोडफोड तथा झडप भएको आयोगले उल्लेख गरेको छ। त्यसपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ओमप्रकाश मेहताको मृत्यु भएको तथा अन्य नौ जना घाइते भएको आयोगको भनाइ छ।

आयोगका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ। चार जनाको न्युरो अस्पताल, चार जनाको विराट नर्सिङ होम र एक जनाको नोबेल मेडिकल कलेजमा उपचार भइरहेको जानकारी आयोगले प्राप्त गरेको जनाएको छ।

घटनापछि विभिन्न स्थानमा टायर बालेर प्रदर्शन गरिएको, आन्दोलनकारीहरूले लाठी र रड बोकेर प्रदर्शन गरेको तथा कप्तानगञ्जलगायतका क्षेत्रमा अवस्था तनावग्रस्त बनेपछि सुरक्षा व्यवस्था सुदृढ बनाउन नेपाली सेना परिचालन गरिएको आयोगले जनाएको छ।

आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।

साथै, आयोगले राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी तथा सर्वसाधारणलाई वार्ता र संवादमार्फत विवाद समाधान गरी सामाजिक सद्भाव, शान्ति र सहिष्णुता कायम राख्न सहयोग गर्न अपिल गरेको छ।

Leave Your Comment

Related News