CLI

सुनसरी घटनापछि सरकारको अपिलः सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्नुस्

काठमाडौं । नेपाल सरकारले धार्मिक तथा साम्प्रदायिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षसँग संयमता अपनाउन तथा कुनै पनि प्रकारका उत्तेजक गतिविधि र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली समाजले सदियौँदेखि अवलम्बन गर्दै आएको धार्मिक सहिष्णुता, आपसी एकता र सामाजिक सद्भावलाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुन सम्बन्धित सबै पक्षलाई अपिल गरेको हो।

सरकारले धार्मिक तथा साम्प्रदायिक सहिष्णुतामा खलल पुर्‍याउने गतिविधि नगर्न, उत्तेजना फैलाउने वा भ्रामक सूचना प्रचार–प्रसार नगर्न तथा यस्ता सूचनाबाट प्रभावित नभई उच्च संयमता अपनाउन सबैमा आग्रह गरेको छ।

विज्ञप्तिअनुसार साउन १० गते सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा भएको घटना तथा त्यसपछि पूर्वी नेपालका केही जिल्लामा विकसित परिस्थितिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ।

सरकारले घटनामा घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था मिलाइसकेको जनाएको छ। साथै घटनाको सत्यतथ्य छानबिन गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक उपायसहित सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको र समितिले कामसमेत सुरु गरिसकेको जानकारी दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता सहसचिव हेमराज अर्यालद्वारा जारी विज्ञप्तिमा पीडित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउने तथा घटनामा संलग्न दोषीमाथि कडा कानुनी कारबाही गर्ने सरकारको प्रतिबद्धता दोहोराइएको छ।

सरकारले कुनै पनि समस्या, असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने स्पष्ट गर्दै मुलुकमा शान्ति, सुव्यवस्था, सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न सबै राजनीतिक दल, नागरिक समाज, धार्मिक संघसंस्था, सञ्चार माध्यम तथा आम नागरिकलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

Leave Your Comment

Related News