काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
“धार्मिक सहिष्णुता र सामाजिक सद्भाव नेपाली समाजको अन्तरनिहित शक्ति हो । कसैले बरदान दिएको होइन । साझा प्रयत्नबाट आर्जन गरेको पुँजी हो । यसलाई जोगाइराख्नुपर्छ । यसका निम्ति कसैले आवेग, उत्तेजना नआइकन धैर्यता र संयमतासाथ संवाद गर्नुपर्छ,” सर्वदलीय बैठकपछि गगनले भने ।
सुनसरी घटनाबारे सबै नागरिक, राजनीतिक सबैलाई आह्वान गर्नुपर्ने विषय राखेको जानकारी दिए । अवाञ्छिक क्रियाकलाप हुने क्षेत्रमा पूर्वसजकता अपनाउन आग्रह गरे ।
उनले सरकार कहाँ छ भन्दै प्रश्न गरे । “यतिबेला सरकार के गर्दै छ, सरकार कहाँ छ । सरकार केवल बन्दुकको गोली र लाठीमा मात्रै भेटिनुहुँदैन । सरकार स्टाटसमा मात्रै सीमित हुनु हुँदैन,” गगनले भने, “सरकार भनेको अभिभावक मात्रै होइन, लिडर पनि हो । उसले अरुलाई विश्वास गर्न सक्नुपर्छ ।”


