CLI

सञ्चारमन्त्री तिमिल्सिनासँग एआइबिडीका सिइओको शिष्टाचार भेटवार्ता

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनासँग एसिया–प्यासिफिक इन्सिच्युट फर ब्रोडकास्टिङ डेभलपमेन्ट (एआइबिडी)का प्रमुख कार्यकारी अधिकृत (सिइओ) फिलोमेना ज्ञानप्रगासमले आज शिष्टाचार भेटवार्ता गरेकी छन्।

भेटमा सञ्चार क्षेत्रको विकास तथा सुदृढीकरण, सामुदायिक रेडियोको भूमिका, नेपालमा सञ्चारसम्बन्धी कानुनी सुधार तथा नेपालमा आयोजना हुन लागेको एआईबिडीको २४औँ सम्मेलनका विषयमा छलफल भएको छ।

भेटका क्रममा सञ्चारमन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान तथा यस्ता सम्मेलनले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले नेपालमा आयोजना हुने एआईबिडीको सम्मेलनले सञ्चार क्षेत्रका समसामयिक चुनौती र अवसरबारे बहस गर्ने अवसर प्रदान गर्नुका साथै सरकारले अघि बढाइरहेको सञ्चार कानुन सुधार प्रक्रियालाई समेत उपयोगी पृष्ठपोषण गर्ने बताए। “एक दशकअघिको सञ्चार क्षेत्र अहिले निकै परिवर्तन भइसकेको छ, आगामी दिनमा अझ नयाँ आयाम थपिँदै जानेछन्। त्यसैले सरकारले सञ्चार क्षेत्रका लागि नयाँ कानुन निर्माण गर्ने र पुराना कानुन संशोधन गर्ने काम अघि बढाइरहेको सन्दर्भमा नेपालमा हुने सम्मेलनबाट प्राप्त सुझाव नीतिनिर्माणमा उपयोगी हुने विश्वास लिएका छौँ,” मन्त्री तिमिल्सिनाले भने।

नेपालमा आयोजना हुने एआईबिडीको २४औँ सम्मेलन सफल बनाउन सरकार आयोजक संस्थासँग आवश्यक समन्वय, सहकार्य र सहयोग गर्न तयार रहेको पनि सञ्चारमन्त्री तिमिल्सिनाले बताए।
यस अवसरमा एआईबिडीकी प्रमुख कार्यकारी अधिकृत फिलोमेना ज्ञानप्रगासमले दक्षिण एसियामा रेडियो अझै पनि प्रभावकारी सञ्चार माध्यमका रूपमा रहेको बताइन्। विशेषगरी नेपालको सामुदायिक रेडियो अभियानले ठूलो जनसमुदायसम्म सूचना पुर्यानउन उल्लेखनीय भूमिका निर्वाह गरेको उनको भनाइ थियो।

उनले मिडिया क्षेत्र तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै रेडियो र टेलिभिजनले कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल सूचना प्रणाली, जलवायु परिवर्तन, मानव अधिकार तथा समसामयिक सामाजिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाइरहेको बताइन्।

विपद्को समयमा पूर्वसूचना तथा विश्वसनीय जानकारी प्रवाह गर्ने प्रभावकारी माध्यमका रूपमा विद्युतीय सञ्चार माध्यमको भूमिका अझै पनि महत्वपूर्ण रहेको उनले उल्लेख गरिन्। एआईबिडीले अन्तर्सरकारी संस्थाका रूपमा सदस्य राष्ट्रबीच प्रसारण क्षेत्रको अनुभव, नीति तथा प्रविधि आदानप्रदानमा क्रियाशील रहेको जानकारी दिँदै उनले नेपालमा हुने सम्मेलनले विद्युतीय सञ्चार माध्यमको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको अनुभवबीच ज्ञान आदानप्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने विश्वास व्यक्त गरिन्।

भेटका क्रममा सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)का अध्यक्ष अर्जुन गिरीलगायतका पदाधिकारीले नेपालमा सामुदायिक रेडियोले सामाजिक मुद्दा उठाउने, सीमान्तकृत समुदायलाई मूलधारमा ल्याउने तथा स्थानीय तहमा सूचना प्रवाह गर्ने महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। उनीहरूले डिजिटल तथा नयाँ सञ्चार माध्यमको प्रयोग तीव्र रूपमा बढिरहेका बेला सामुदायिक रेडियोले कानुनी, नीतिगत तथा प्रशासनिक जटिलता भोगिरहेको उल्लेख गर्दै तीनै तहका सरकारसँग काम गर्नुपर्ने वर्तमान संरचनामा आवश्यक कानुनी सहजीकरण गर्न आग्रह गरे। विशेषगरी विपद्को समयमा सामुदायिक रेडियोलाई राज्यबाट संरक्षण र सहजीकरणको व्यवस्था गर्नुपर्ने अकोरावको भनाई थियो।

अकोराबका पदाधिकारीहरूले दक्षिण एसियामा सामुदायिक रेडियो अभियानको नेतृत्वदायी भूमिका नेपालले निर्वाह गर्दै आएको उल्लेख गर्दै सन् २०१२ मा पनि नेपालमा एआईबिडीको यस्तै प्रकृतिको कार्यक्रम सफलतापूर्वक आयोजना भएको स्मरण गराएका थिए।

उक्त भेटमा आगामी आगामी अगष्ट २३ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने एआईबिडीको २४औँ सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका विभिन्न मुलुकका प्रसारण क्षेत्रका नीति निर्माता, सञ्चार विज्ञ, प्रसारक संस्था तथा सञ्चारकर्मीहरूको सहभागिता रहने आयोजक अकोरावले जनाएको छ।

Leave Your Comment

Related News