CLI

धार्मिक तथा साम्प्रदायिक सद्भाव भड्काउने मिडिया र सामाजिक सञ्जालमाथि प्रेस काउन्सिलको कारबाही

काठमाडौं । प्रेस काउन्सिल नेपालले धार्मिक वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने, हिंसा, आतङ्क र अपराधलाई प्रश्रय दिने तथा उत्तेजित बनाउने किसिमका गलत, भ्रमपूर्ण र अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने विभिन्न आमसञ्चार माध्यम र सामाजिक सञ्जालहरूमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ।

काउन्सिलको जारी प्रेस विज्ञप्ति अनुसार, सुनसरी लगायतका पूर्वी जिल्लामा हालै घटेका दुःखद र संवेदनशील घटनाका विषयमा विभिन्न मिडिया तथा सामाजिक सञ्जालबाट सम्प्रेषित सामग्रीहरूको नियमित अनुगमनका क्रममा यस्तो गम्भीर लापरबाही पाइएको हो।

अनुगमनका क्रममा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने १४ वटा मिडियालाई त्यस्ता सामग्री अविलम्ब हटाउन टेलिफोनमार्फत निर्देशन दिइएकोमा ७ वटा मिडियाले निर्देशन पालना गरी सामग्री हटाइसकेका छन् भने मौखिक निर्देशन पालना नगर्ने १ वटा मिडियालाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गरिएको छ।

त्यसैगरी, मिडियाअन्तर्गत आबद्ध नभएका ६ वटा सामाजिक सञ्जाल ५ वटा फेसबुक पेज र १ वटा यूट्यूब च्यानल का ८ वटा गम्भीर प्रकृतिका सामग्रीका विषयमा आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा पत्राचार गरिएको काउन्सिलले जनाएको छ।

प्रेस काउन्सिल नेपालले पत्रकारिताका मूल्य र मान्यताविपरीत पेसागत जिम्मेवारीबाट विमुख भई परिस्थितिलाई भड्काउने किसिमले आचारसंहिताप्रतिकूल कुनै पनि सामग्री सम्प्रेषण नगर्न/नगराउन आमसञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जालका प्रयोगकर्ता लगायत सम्पूर्णमा हार्दिक अपिल समेत गरेको छ।

Leave Your Comment

Related News