CLI

करिब साढे २७ लाख लाइसेन्स छपाई सम्पन्न,छाप्न बाँकी सबै लाइसेन्स तयार

काठमाडौं । यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि छपाई हुन बाँकी रहेका २७ लाख ४७ हजार २५३ थान सवारी चालक अनुमतिपत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स) को छपाई सम्पन्न गरी सम्बन्धित यातायात कार्यालयहरुमा पठाएको छ।

विभागद्वारा प्रकाशित विज्ञप्ति अनुसार छपाई मेशिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर तथा अन्य स्रोतगत समस्याका कारण विगत चार वर्षदेखि लाइसेन्स छपाई कार्य रोकिँदै आएको थियो। सुरक्षण मुद्रण केन्द्रसँग २०८२ कात्तिक १२ गते भएको सम्झौता अनुसार २०८३ असार मसान्तसम्म छपाई हुन बाँकी रहेका सबै स्मार्ट कार्डहरुको छपाई २०८३ साउन ७ गतेभित्र सम्पन्न गरिएको विभागले जनाएको छ।

अहिले उक्त सबै कार्डहरु हुलाकमार्फत वितरणका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुमा पठाइसकिएको छ।

साथै म्याद सकिन १ वर्षभन्दा कम भएकालाई नवीकरण गर्न अनुरोधछपाई गरिएका कार्डहरुमध्ये म्याद सकिन एक वर्षभन्दा कम अवधि बाँकी रहेका लाइसेन्सहरु छपाई नगरिएको विभागले स्पष्ट पारेको छ। नवीकरण पश्चात् १० वर्ष अवधिको लाइसेन्स प्राप्त हुने भएकाले यस्ता सेवाग्राहीहरुलाई आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण प्रक्रिया अगाडि बढाउन विभागले अनुरोध गरेको छ।

विभागका अनुसार अब आगामी दिनमा नयाँ लाइसेन्स प्राप्ति तथा नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बरका आधारमा विवरण प्राप्त गर्ने र राजस्व भुक्तानी अनलाइनमार्फत गर्न सकिने गरी प्रणालीमा सुधार गरिएको छ।

यस्तै, सवारी चालक अनुमतिपत्रमा भएका विवरणगत त्रुटिहरुको सुधार, छपाई तथा वितरण सम्बन्धी कार्यहरु अब सम्बन्धित कार्यालयहरुबाटै तत्काल हुने व्यवस्था मिलाइएको छ। वैदेशिक रोजगारीमा जानेहरुका लागि द्रुत (फास्ट ट्र्याक) छपाई तथा कार्ड वितरण सेवाका लागि पनि सम्बन्धित यातायात कार्यालयमै सम्पर्क गर्न विभागले सूचित गरेको छ।

लाइसेन्स छपाई तथा वितरण कार्यमा भएको ढिलाइमा धैर्यता देखाइदिएकोमा विभागले सम्पूर्ण सेवाग्राहीप्रति धन्यवाद व्यक्त गरेको छ।

Leave Your Comment

Related News